पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेका छन् । गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले आइतबार प्रदेशसभामा विश्वासको मत मागेका हुन् ।
मुख्यमन्त्री अधिकारीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल सुरू भएको छ ।
संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा नियुक्त भएका मुख्यमन्त्री अधिकारीले १६८ (४) बमोजिम विश्वासको मत मागेका हुन् । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ जना पुग्नुपर्ने संवैधानिक व्यवस्था छ ।
सरकार अल्पमतमा परेपछि विश्वासको मत पाउने स्थिति नदेखेपछि गत चैत २१ गते तत्कालिन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका थिए । प्रदेश प्रमुख डिल्लीराज भट्टले २७ चैतको ३ बजेसम्मका लागि समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।
तर २५ चैतमै सभामुखसहितको संख्या गणना गरेर एमाले संसदीय दलका नेता अधिकारीले दाबी पेश गरेपछि प्रदेश प्रमुख भट्टले उनलाई मुख्यमन्त्रीमा नियुक्ति दिए ।
प्रतिक्रिया