मधेशमा नयाँ सरकार बनाउन चार दल छलफलमा

मधेशमा नयाँ सरकार बनाउन चार दल छलफलमा



जनकपुरधाम । मधेसमा नयाँ सरकार गठनबारे चार दलका नेताहरूले छलफल सुरू गरेका छन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा रहेका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट एमाले र माओवादी बाहिरिएपछि चार दलका नेताहरू नयाँ सरकार गठनको परामर्शमा जुटेका हुन् ।

एमाले र माओवादीले सरकार छोडेसँगै मधेस प्रदेशको सरकार अल्पमतमा परेको छ । माओवादी केन्द्रका सांसद युवराज भट्टराईको जनकपुरधामस्थित निवासमा चलिरहेको छलफलमा एमाले, माओवादी केन्द्र, जनमत र लोसपाका सांसदहरू सहभागी छन् ।

छलफलमा मधेश संसदको ठूलो दल एमाले र जनमतले मुख्यमन्त्रीको दावी गरेका छन् ।

मधेसको सरकार बनाउन ५४ जना सांसद चाहिन्छ । यी चार दलसँग अहिले ५५ जना सांसद छन् । मधेसको सबैभन्दा ठूलो दल एमालेसँग सभामुख सहित २५, माओवादीका ९, जनमतका १३ र लोसपाका ८ जना सांसद छन् ।

छलफलमा नेकपा एकीकृत समाजवादी भने सहभागी छैन । समाजवादीबाट मधेस प्रदेशमा दुई जना मन्त्री छन् । मधेसमा एकीकृत समाजवादीका ७ जना सांसद छन ।