विश्वकप क्रिकेट लिग टु का लागि नेपाली क्रिकेट टोलीको घोषणा

विश्वकप क्रिकेट लिग टु का लागि नेपाली क्रिकेट टोलीको घोषणा



काठमाडौं । लेगस्पिनर सन्दीप लामिछानेको कप्तानीमा नेपालले दुई सातापछि युएईमा हुने आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई, पपुवा न्युगिनीसँग खेल्ने त्रिकोणात्मक ओडिआई सिरिजको लागि अन्तिम १६ सदस्य टोली घोषणा गरेको छ ।

नेपालले सिरिजमा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीविरुद्ध खेल्नेछ । नेपाल र पीएनजीबीचको खेल मार्च १६ मा शारजहा क्रिकेट मैदानमा हुनेछ । नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ । नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ ।

नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ । लिग टु अन्तर्गत ७ टिम सहभागि रहेका छन् । ओमानले २३ खेलबाट ३० अंक जोडेको तालिकाको शीर्ष स्थानमा रहेको छ ।
यता १२ खेल खेलेको स्कटल्यान्ड (१६ अंक), १६ खेल खेलेको अमेरिका (१४), १० खेल खेलेको युएई (१२) तथा ९ खेल खेलेको नामिविया (१०) दोस्रोदेखि पाँचौ स्थानसम्म रहेका छन् ।
नेपाल भने ८ खेलबाट ८ अंक जोड्दै छैठौं स्थानमा छ । पीएनजीले भने १२ मध्ये कुनैपनि खेलमा जित हात पारेको छैन ।

नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी ।

नेपालको खेल तालिका

१६ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, शाहजाह क्रिकेट स्टेडियम

१८ मार्च नेपालविरुद्ध युएई, दुबई इन्टरनेशल क्रिकेट स्टेडियम

२१ मार्च नेपालविरुद्ध युएई, दुबई

२२ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, दुबई