म्यानचेस्टर डर्वीमा सिटीको सानदार जित

म्यानचेस्टर डर्वीमा सिटीको सानदार जित



लन्डन । केबिन डे ब्रुयने र रियाद मेहरेज चम्किएपछि इग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्वीमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । आइतबार राति सिटीको घरेलु मैदान इतिहादमा भएको खेलमा पूरा समय खेल पकड राख्दै सिटीले युनाइटेडमाथि ४-१ अन्तरको जित निकालेकाे हाे ।

पहिलो हाफमा २-१ ले अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप २ गोल गर्दै शीर्ष स्थानमा बलियो रह्यो । केभिनले खेलको पाँचौ मिनेटमा गोल गर्दै सिटीको अग्रता बनाए । जाडोन सान्चोले २२औँ मिनेटमा गोल गर्दा भ्रमणकारी टोली युनाइटेड खेलमा फर्कियो ।

२८औँ मिनेटमा पुनः केभिनले गोल गर्दै दोस्रो पटक अग्रता लिए । यसपछि खेलको ६८ र ९०औँ मिनेट रियादले गोल गरेपछि सिटीले प्रभावशाली जित निकाल्यो । जितसँगै सिटीले पुनः तीन अंकको अग्रता लिएको छ । २८ खेल खेलेको सिटी ६९ अंकसहित शीर्ष स्थानमा छ । एक खेल कम खेलेको लिभरपुल ६३ अंकसहित दोस्रो स्थानमा छ ।

पराजित युनाइटेड भने २८ खेलबाट ४७ अंकसहित पाँचौ स्थानमा छ । आइतबार राति नै भएको अर्को खेलमा घरेलु टोली वाट्फोर्डमाथि ३-२ अन्तरको रोमान्चक जित निकाल्दै आर्सनल शीर्ष चारमा उक्लियो ।

पुनरागमन जितसँगै बार्सिलोना तेस्रो स्थानमा उक्लियो
बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फेरान टोरेस र मेम्फिस डिपाएले गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा इल्चेविरुद्ध २-१ अन्तरको पुनरागमन जित निकालेको छ । आइतबार राति घरेलु मैदानमा इल्चेका फिडेलले ४४औँ मिनेटमा गोल गरेपछि भ्रमणकारी टोली क्याटलान क्लब बार्सिलोना दबाबमा आएको थियो ।

तर, टोरेसले जोर्डी अल्बाको पास सदूपयोग गर्दै ६०औँ मिनेटमा खेल बराबरीमा ल्याए । डिपाएले पाएको पेनाल्टी सदुपयोग गर्दै खेल सकिन ६ मिनेट अघि विजयी गोल गरे । जितसँगै बार्सिलोना २६ खेलबाट ४८ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । पराजित इल्चे २७ खेलबाट २९ अंकसहित १४औं स्थानमा छ । आइतबार राति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले रियल बेटिसलाई ३-१ अन्तरले पराजित गरेकाे छ ।

एसी मिलान शीर्ष स्थानमा उक्लियो
नापोलीलाई पराजित गर्दै एसी मिलान इटालीयन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति नापोली घरेलु मैदानमा भएकाे खेलम एसीले नापाेलीलाई १-० अन्तर गाेलले पराजित गरेकाे हाे । भ्रमणकारी टोली मिलानका ओलिभियर जिराउडले खेलको ४९औं मिनेटमा निर्णायक गोल गरे ।

जितसँगै मिलान २८ खेलबाट ६० अंकसहित शीर्ष स्थानमा उक्लिएकाे छ । २७ खेलबाट ५८ अंक बनाएको इन्टर मिलान दोस्रो स्थानमा छ । पराजित नापोली २८ खेलबाट ५७ अंक सहित तेस्रो स्थानमा छ । राति नै भएको खेलमा युभेन्ट्सले स्पेजियालाई १-० अन्तरले पराजित गरेकाे छ ।