अलराउन्डर विश्व वरीयतामा दीपेन्द्रकाे तीन स्थान सुधार, हार्दिकलाई पनि पछि पारे

अलराउन्डर विश्व वरीयतामा दीपेन्द्रकाे तीन स्थान सुधार, हार्दिकलाई पनि पछि पारे



काठमाडौँ । आईसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डरतर्फको वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरीले एकसाथ तीन स्थान सुधार गरेका छन् ।

यसअघिको वरीयतामा नवौँ स्थानमा रहेका दीपेन्द्र बुधबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा छैठौँ स्थान पाएका हुन् ।

यसपटकको वरीयतामा दीपेन्द्रले भारतका हार्दिक पाण्ड्या, इंग्ल्यान्डका लाइम लिभिङस्टोन र इंग्ल्यान्डकै मोइन अलीलाई पछि पारेका छन् ।

नेपालकै कुशल मल्लको भने वरीयता एक स्थानले खस्किएको छ । यसअघि ३५औँ स्थानमा रहेका कुशल एक स्थान तल झर्दै ३६औँ स्थानमा छन् । कप्तान रोहित पौडेलले एकैपटकमा ११ स्थान सुधार गरेका छन् । यसअघि ६६औँ स्थानमा रहेका रोहितले ११ स्थान सुधार गर्दै ५५औँ स्थानमा आइपुगेका हुन् ।

गुल्सन झाको वरीयता ६ स्थान तल झर्दा कुशल भुर्तेल ४३ स्थान अगाडि आइपुगेका छन् । गुल्सन ६८ र भुर्तेल ७०औँ स्थानमा छन् । करण केसीको पनि वरीयता खस्किएको छ । उनी ६ स्थान तल झर्दा ७५औँ स्थानमा पुगेका छन् ।

विश्व वरीयतामा अस्ट्रेलियाका मार्कस स्टोनिसले पहिलो स्थान ओगटेका छन् । यसअघि पहिलो स्थानमा रहेका अफगानिस्तानका मोहम्मद नाबी तीन स्थान तल झर्दा श्रीलंकाका वानिन्दु हसराङ्गा दोस्रो र बंगलादेशका साकिव अल हसन तेस्रो स्थानमा छन् ।

जिम्बावेका सिकन्दर राजा एक स्थान तल झर्दा दीपेन्द्रभन्दा एकस्थान माथि पाँचौँ वरीयतामा छन् ।