भक्तपुर । भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याड व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको सूर्यविनायक नगरपालिका–१० नलिञ्चोकमा ३३ रोपनी क्षेत्रफलमा हेलिप्याड निर्माण गरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले आज हेलिप्याडको उद्घाटन गर्दै त्रिभुवन विमानस्थलको उडान चाप व्यवस्थापनमा हेलिप्याड उपयोगी हुने विश्वास व्यक्त गरे । पर्यटन मन्त्री तामाङले देशको हवाई उडानलाई सुरक्षित र भरपर्दाे बनाउन मन्त्रालयले नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले देशको नागरिक उड्डयन सेवालाई सुरक्षित, भरपर्दाे र स्तरीय बनाउन त्रिभुवन विमानस्थलमा पूर्वाधार विस्तारसहित विभिन्न काम अगाडि बढाएको बताए ।
प्राधिकरणका सिभिल इन्जिनियर विनायक भट्टराईका अनुसार १७ वटा हेलिकप्टर पार्किङ गर्न मिल्ने क्षमता रहेको नालिञ्चोक हेलिप्याडमा एकैपटक चार वटा हेलिकप्टर अवतरण गर्न सकिन्छ ।
झन्डै ११ करोड रुपैयाँको लागतमा हेलिप्याड निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अहिले नेपालमा १२ वटा हेलिकप्टर सेवा प्रदायक कम्पनीका ४० हाराहारी हेलिकप्टर छन् ।


प्रतिक्रिया