मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ- यो गठबन्धन लामै समय जान्छ

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ- यो गठबन्धन लामै समय जान्छ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठकमा सत्ता गठबन्धनमा असमझदारी बढ्यो भनेर बाहिर भएको चर्चामा कुनै सत्यता नभएको ब्रिफिङ गरेका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले बाहिर भएको चर्चाको विषयमा जानकारी गराएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

उनले भनिन्, ‘प्रधानमन्त्रीले बाहिर चर्चामा आएको विषयको ब्रिफिङ गर्नुभयो । ओली र प्रधानमन्त्रीको छलफल भएको छ । बाहिर असमझदारी बढ्यो भनेर आएका कुरा असत्य हुन् यो गठबन्धन लामै समय जाने जानकारी गराउनुभएको छ । सरकार तलमाथि हुने जुन भ्रम सिर्जना भएको छ । त्यस्तो केही होइन ।’

मन्त्री शर्माले अहिले राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा पनि कुनै छलफल नभएको जिकिर गरिन् । ‘अघिल्लो समीकरणमा राष्ट्रिय सकारको कुरा उठेको थियो तर अहिले त्यस्तो कुरा पनि छैन । कैयन कामहरू गर्दा राष्ट्रिय सहमति चाहिन्छ भन्ने कुरा निरन्तर छलफल भएकै छ’, शर्माले भनिन्,‘टीआरसी लगायत बिलहरू पास गर्नु भन्ने छ । त्यसैले राष्ट्रिय सहमति भनेको राष्ट्रिय सरकार होइन ।’