पहिरे खोलामा तत्काल पुल निर्माण गर्न सदनमा सांसद खतिवडाको माग

पहिरे खोलामा तत्काल पुल निर्माण गर्न सदनमा सांसद खतिवडाको माग



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ओखलढुंगाको पहिरे खोला र भण्डारे खोलामा तत्काल पुल निर्माण गर्न सदनको ध्यानाकर्षण गराएका छन् ।

आज प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद खतिवडाले पहिरोको कारण जावतजावत गर्न कठिनाई भएकाले तत्काल पुल निर्माणको काम अगाडि बढाउन माग गरेका छन् । खतिवडाले भने, ‘ओखलढुंगाको पहिरे खोलामा विगत दुई वर्षदेखि पुल निर्माण गर्न भनेर हामीले प्रदेशलाई टेण्डर गर्ने अधिकार दियौँ, टेण्डर भयो तर पछि रद्द भयो ।’ गुनासो गर्दै सांसद खतिवडाले भने, ‘हाम्रो फोटो राखेर ‘रिप’ लेख्ने सम्मको कार्य भएको छ ।’

सभामुख मार्फत् सरकारको ध्यानाकर्षण गराउँदै सांसद खतिवडाले भने, ‘यथाशिघ्र टेण्डर गरेर पहिरे खोला र भण्डारे खोलामा तत्काल पुल निर्माण गरियोस् । त्यसैगरी ओखलढुंगा जिल्लाका विभिन्न बाटोहरु रोपाईँ गर्ने खेत जस्तो भएका छन्, तिनीहरुलाई तत्काल सुधार गरियोस् ।’

पूर्वाधार विकास कार्यालय ओखलढुंगाले २०८० बैशाख १३ गते पुल निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । करिब तीन करोड रुपैयाँ लागत रहेको उक्त पुलको ठेक्काको प्राविधिक प्रस्ताव खोली आर्थिक प्रस्ताव खुल्ने चरणमा पुगिसकेको थियो । पछि राजनीतिक प्रतिशोधका कारण टेण्डर भइसकेको पुल रद्द भएको थियो ।

उक्त पुलकाे ठेक्का प्रक्रिया रद्द भएपछि पुल बन्ने काम अलपत्र परेको छ । वर्षाभरि पहिरे खोलाबाट सास्ती भोग्दै आएका सर्वसाधारण यसको जम्मै दोष नेताहरूलाई दिने गर्छन् । ओखलढुंगा सदरमुकामबाट पश्चिमतर्फका पाँचवटा गाउँपालिका मोलुङ, सुनकोशी, चम्पादेवी, लिखु र खिजिदेम्बाका बासिन्दालाई अत्यावश्यक रहेकाे यो पुल नबन्दा वर्षायाममा सास्ती भोग्नु परिरहेको छ ।