पश्चगामी सोचका साथ संविधानमा गिद्धेनजर लगाए प्रतिवाद गर्छौं : माधव सापकोटा

पश्चगामी सोचका साथ संविधानमा गिद्धेनजर लगाए प्रतिवाद गर्छौं : माधव सापकोटा



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए सशक्त प्रतिवाद गर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद सापकोटाले धर्म निरपेक्षता र समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली वर्तमान संविधानको सुन्दरता भएको बताए ।

उनले संविधानको यो सुन्दरता विपरीत गएर संविधान संशोधन हुन नसक्ने बताए । उनले पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाइए माओवादी केन्द्रले संसद र सडकबाट सशक्त प्रतिवाद गर्ने बताए ।

उनले कांग्रेस–एमालेले संविधानको सुन्दरतामाथि प्रहार गरेमा सम्बन्धित जाति, समुदाय, क्षेत्र, लिङ्ग र वर्गले प्रतिवाद गर्ने र त्यसको नेतृत्व माओवादी केन्द्रले गर्ने बताए । उनले जनताका अधिकारलाई सुदृढ गरेर र समयानुकूल परिवर्तन गरेर संशोधन गर्ने कुरामा भने माओवादी सहमत रहने बताए ।

उनले प्रधानमन्त्रीले संवैधानिक अधिकार प्रयोग गरेर विश्वासको मत लिने बताए । प्रधानमन्त्रीले विश्वासको मत लिन संविधानमा भएको व्यवस्थालाई लोकतान्त्रिक ढंगले अभ्यास गर्न लागेको बताए ।