कांग्रेस–एमाले सच्चिने अन्तिम मौका

कांग्रेस–एमाले सच्चिने अन्तिम मौका



कांग्रेस–एमालेको गठबन्धन उत्तम विकल्प त होइन तर बाध्यात्मक कदम चाहिँ हुनसक्छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको प्रयोगात्मक परीक्षणलाई विराम दिलाउन आवश्यक महसुस भएर वा सत्ता राजनीतिको खराब प्रदर्शनलाई रोक्न वा संविधान संशोधनलगायत जनताका अन्तुष्टिलाई सम्बोधन गर्न आवश्यक ठानेर कांग्रेस र एमालेबीच सहकार्य गर्न खोजिएको हो भने त्यत्ति धेरै असन्तुष्टि राख्नु आवश्यक छैन । निर्वाचनमा नै गठबन्धन गरेकाले कांग्रेस–माओवादीबीच नै सरकार बन्नु स्वभाविक हुन्थ्यो । कांग्रेस–माओवादी–समाजवादीसमेत एउटै मञ्चमा उभिएर सरकार बनाउने–चलाउने प्रतिबद्धता गरेका हुन् । जुन जनअनुमोदित पनि हो ।

निर्वाचन अघिको गठबन्धनको पक्षधर त म होइन तर जनादेश शिरोपर गर्नु राजनीतिक दल र नेतृत्वको कर्तव्य नै हो । यसलाई नेकपा माओवादीले सत्तारोहणको औजारको रुपमा मात्र प्रयोग गरेकोले अवस्था बिग्रिएको हो । नेकपा माओवादी र पुष्पकमल दाहालका लागि कांग्रेससँगको यात्रा जति सरल, सहज र यथार्थ हुन्थ्यो, त्यो अरुसँग नहुने निश्चित नै थियो । भिरबाट लड्न खोजेको गाईलाई राम राम भन्नसम्म सकियो, काँध नै थाप्न सकिएन । कांग्रेसले त सिस्नो पटक पटक समाएकै हो, यो पटक पनि भिरबाट लड्नुभन्दा सिस्नो समाउनु बेस ठानेको–मानेको हुनसक्छ ।

जनताका मुद्दाप्रति इमान्दार बन्न नसक्दासम्म सत्ता हेरफेरको कुनै अर्थ रहँदैन । नागरिक वाक्कदिक्क भएका छन्– नेतृत्वसँग । एउटै अनुहार पटक पटक दोहोरिनु, परिणाम दिन नसक्नुको असर तलसम्म देखिन्छ । गाउँघर रित्तिनेक्रम तीब्र भएको छ । विद्यालयहरु व्यवस्थित र भव्य बनेका छन्, विद्यार्थी छैनन् । स्वास्थ्य चौकीहरु व्यवस्थित देखिन्छन् तर जचाउन आउने मानिसको संख्या नगन्य छ । सडक, विजुली, खानेपानीको सुविधा छ, तर त्यसको उपयोग र उपभोग गर्ने संख्या न्यून हुँदै गएको छ ।

हिजो गाउँमा कुनै सुविधा नै थिएन तर गाउँघर गुलजार थियो । आज सुविधा पुगेको छ तर गाउँघर रित्तिएको छ, घरहरु खाली भएका छन्, जमिन बाँझो रहेको छ, वृद्ध, असहाय, विपन्नहरु मात्र देशमा बस्ने हुन कि जस्तो चित्र देखिन थालेको छ । राज्यको दृष्टिकोण यसतर्फ छैन । सुविधा सम्पन्न गाउँ बनाउने योजनामा सरकार क्रियाशील भएको भए समस्या यति धेरै विकराल बन्ने थिएन । माओवादीको हिंसात्मक र ध्वसात्मक गतिविधिदेखि गाउँघर पलायनको क्रम तीब्र हुँदैहुँदै अब रित्तिने अवस्थासम्म आइपुगेको छ । सरकारले यसलाई कसरी लिएको छ, सबैभन्दा ठूलो सरोकार राखिएको विषय हो ।

राज्य व्यवस्थाका अन्य कमजोरीहरु प्रति कस्तो दृष्टिकोण रहन्छ भन्ने अर्को महत्वपूर्ण सवाल छ । कांग्रेस–एमाले सम्मिलित राष्ट्रिय भनिएको सरकारले बेथिति र विकृतिहरु सुधारमा कस्तो पहलकदमी लिन्छ, त्यसलाई नजिकबाट नियाल्ने काम भने दल, व्यवस्था, नेतृत्व र फेरबदलप्रतिको सामान्य मोह पनि रहने छैन । को प्रधानमन्त्री कति समयका लागि हुने भन्ने विषयमा चासो नै छैन । मन्त्रीको जागिर कसले पाउँछ ? झन्डा हल्लाएर कस्ले फूर्ति देखाउँछ त्यसको कुनै अर्थ नै छैन । चरित्र नभएका, संस्कार सिक्नुपर्ने, क्षमताविहीन मानिसहरुको भिडभाड जनताले पटक्कै रुचाएका छैनन् ।

भ्रष्ट र अनैतिक व्यक्तिहरुलाई टाढै राखेर चुस्त र सुक्षम व्यक्तिहरुको टिम बनाएर ‘सर्भिस डेलिभरि’ गर्न सकेमात्र झिनो आशा पलाउला । अन्यथा व्यवस्थाप्रति कै बद्नामी मात्र हुनेछ । जनताको सेवा गर्ने पवित्र उद्देश्य भएका पात्रहरुको छनोट नै एमाले कांग्रेसका लागि चुनौति हो । बिहानीले देखाउँछ कि दिन कस्तो हुन्छ । यहाँ कसले कसलाई के देखाउने भन्ने होइन, जनताको भड्किएको र भत्किएको मन कसरी जोड्ने भन्ने हो । ज्वलन्त समस्याहरुको समाधान कसरी खोज्ने भन्ने हो ।

शिक्षा र रोजगारीको गन्तव्य दोस्रो, तेस्रो मुलुक बन्नुपर्ने, हुनुपर्ने अवस्थाबाट नेपाललाई कसरी माथि उठाउने ? साधन र श्रोतको उचित, उपयुक्त र समानुपातिक वितरण कसरी हुनसक्छ ? दुई विशाल छिमेकीहरुलाई नेपालको महत्व कसरी बुझाउन सकिन्छ ! जनसंख्या र आर्थिक सूचांकमा पहिलो, दोस्रो, तेस्रो रहेका निकट छिमेकीहरुलाई समृद्ध नेपालको अपरिहार्यता जति राम्रोसँग बोध गराउन सकिन्छ, त्यत्ति नै तपाईंहरुको हित छ भन्ने यथार्थ बुझाउन सक्ने राजनीतिक नेतृत्वको पहिचान बनाउन सक्ने व्यक्तित्व कसले बनाउन सक्छ ?

आशा, विश्वास र भरोसा जगाउने चुनौति राजनीतिक दल र यसको नेतृत्वका सामु छ । थोरै पनि विश्वास छैन, यी सबै चोर हुन् भन्ने भाष्य बन्दै गएको छ । दल र नेतृत्वको रोजाइमा नै डाकाहरु पर्न थालेका छन् । जो अली बढी बेइमान छ, ठगठाग गर्छ, उठौति पुठौतीमा कस्तो दखल छ । कसले अवैध रकम जम्मा गराउन सक्छ, सार्वजनिक सम्पत्तिको दोहोन र दुरुपयोगमा कसको दक्षता छ, हात पाखुरा चलाउने आँट कस्को छ ? आदि इत्यादि योग्यताले प्राथमिकता पाइरहेको निरन्तरताको क्रमभंग गर्न सक्ने व्यक्तिहरुको सशक्त टिम बनाउन सके भने मात्र कांग्रेस एमालेले आफूलाई उच्चाउन खोजेको सन्देश जानेछ ।

अन्यथा काले काले मिलेर खाउ भाले, गिरिबन्धु टिस्टेट, भुटानी शरणार्थी, सुन तस्करी, भष्टचारी आदि आदिकै खेलोमेलो हो भन्ने पुष्टि हुनेछ । कुन बाटो खोज्ने ? सच्चाउने कि सक्किने ? अब त उठ्नै नसक्ने गरी बजारिने छौ । यो, त्यो परीक्षण जनताले चाहेकै होइनन् । इमान्दारिता, स्पष्टता र दृढ निश्चयी नेतृत्वको सकरात्मक पहलकदमीको टड्कारो आवश्यकता महसुस गरेका छन् । त्यसको सर्वोधन भए ठीकै छ, नभए जनताको निर्णय लिने अधिकार त सधैं सुरक्षित नै छ । आम मानिसले दिएको शंकाको सुविधाको सदुपयोग हुन्छ वा फेरि दुरुपयोग नै हुन्छ । यसको सुक्ष्म निरीक्षण, परीक्षण र सुपरिवेक्षण भएको छ भन्ने हेक्का कांग्रेस एमाले नेतृत्वले राखोस् ।