संविधान संशोधन गर्ने हो भने कार्यकारी राष्ट्रपतिमा जाऔं : प्रधानमन्त्री

संविधान संशोधन गर्ने हो भने कार्यकारी राष्ट्रपतिमा जाऔं : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्ने हो भने खुला छलफल गरेर कार्यकारी राष्ट्रपतिमा जान आग्रह गरेका छन् ।

प्रतिनिधि सभामा विश्वासको मत सम्बन्धि प्रस्ताव पेश गर्दै कांग्रेस र एमालेलाई लक्षित गर्दै संबिधान संशोधन नै गर्ने हो भने कार्यकारी राष्ट्रपति प्रणालीमा जान आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभाको सबै भन्दा ठुलो दल माओवादी केन्द्र बिना संविधान संशोधन कसरी गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

क्षेत्रीय विद्युत व्यापारमा ढोका खुलेको छ

प्रधानमन्त्री प्रचण्डले क्षेत्रीय विद्युत व्यापारमा नेपालको ढोका खुलेको बताएका छन् । उनले अन्तरदेशीय विद्युत् व्यापारका लागि प्रसारण लाइन निर्माणको क्रम तीब्ररूपमा अगाडि बढेको बताएका हुन् ।

“ऊर्जा क्षेत्रमा सरकारको उपलब्धि लोभलाग्दो छ । प्रधानमन्त्रीका रूपमा मेरो दोस्रो कार्यकालमा देशले कहालीलाग्दो लोडसेडिङबाट मुक्ति पायो । त्यतिखेर त्यो कसैले नसोचेको विषय सम्भव भएको थियो,” प्रधानमन्त्री प्रचण्डले भने, “अब विद्युतमा पहुँच नभएको नागरिक बाँकी छैन । विद्युत उर्जाको जडित क्षमता करिब ३२ सय मेगावाट पुगेको छ भने केही महिनामैं करिब ५ सय मेगावाट थप हुने चरणमा छ । जलविद्युतमा निजी क्षेत्रको सहभागितालाई उच्च प्राथमिकतामा राखी हालसम्म करिब १० हजार मेगावाटका आयोजनाहरूसँग विद्युत खरिद सम्झौता भइसकेको छ ।”

उनले हरेक वर्ष करिब एक हजार मेगावाटको हाराहारीमा विद्युत उत्पादन क्षमता वृद्धि हुने ठाउँमा नेपाल पुगेको बताए । प्रधानमन्त्रीले सरकारी निकायबाट ठूला जलाशययुक्त र अर्धजलाशययुक्त आयोजना निर्माणको तयारी पूरा भएको जानकारी दिए ।