मधेश सरकारमा कांग्रेसबाट चार मन्त्रीको नाम सिफारिस

मधेश सरकारमा कांग्रेसबाट चार मन्त्रीको नाम सिफारिस

५ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय



जनकपुर । मधेश प्रदेश सरकारमा नेपाली कांग्रेसबाट चार जनालाई मन्त्रिपरिषदमा सहभागी गराउन नाम सिफारिस गरिएको छ ।

नेपाली कांग्रेसले अर्थ मन्त्रीमा सुनिलकुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा जनार्दन क्षेत्री, ऊर्जा, सिँचाइ खानेपानी मन्त्रीमा शेषनारायण यादव र श्रम तथा यातायात मन्त्रीमा कौशल किशोर रायको नाम सिफारिस गरेर पठाएको छ ।

सिफारिस भएर आएका मन्त्री बिहीबार नियुक्त हुनेछन् । बिहीबार ५ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको मुख्यमन्त्री सतीशकुमार सिंहले जानकारी दिए ।

यसअघि कांग्रेसले अर्थ मन्त्रालय पाउनुपर्ने अडान नछाडेपछि मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् ।

सरकारको नेतृत्वकर्ता जनमत पार्टीले अर्थ मन्त्रालय आफै राख्ने रणनीति बनाएको थियो । पार्टी अध्यक्ष सीके राउतले कांग्रेसलाई अर्थ मन्त्रालय नदिन निर्देशन दिएका थिए । तर कांग्रेसले आफ्नो अडान नछाडेपछि मुख्यमन्त्री सिंहले अर्थ मन्त्रालय कांग्रेसलाई दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।