काठमाडौँ । नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)बाट जितका लागि एक सय १६ रनको लक्ष्य पाएको छ ।
श्रीलंकाको डम्बुलामा टस हारी ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको हो ।
नेपाली टोलीका कप्तान इन्दू बर्माले तीन विकेट लिइन् । उनले चार ओभरमा १९ रन खर्चिइन् । सबनम राई, कृतिका मरासिनी र कविता जोशीले पनि एक–एक विकेट हात पारे । यूएईका लागि छैटौँ नम्बरकी ब्याट्र खुशी शर्माले सर्वाधिक ३६ रन बनाइन् ।
यसैगरी पाँचौँ नम्बरकी ब्याट्र कविसा एगोडेगले पनि २२ रन बनाइन् । समाइरा धरनिधरकाले १३ र कप्तान एसा ओजाले १० रन जोडे । यूएईका अन्य ब्याट्रले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । यूएईले अतिरिक्त रुपमा केवल दुई रन पायो ।
प्रतिक्रिया