काटिएका उद्योगमा लाइन जोड्ने विद्युत् प्राधिकरणको निर्णय

काटिएका उद्योगमा लाइन जोड्ने विद्युत् प्राधिकरणको निर्णय



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन महसुल नतिरिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको मंगलबार बसेको बैठकबाट त्यस्ता ६ वटै उद्योगमा लाइन जोड्ने निर्णय गरिएको हो ।

काटिएका उद्योगमा आजै (मंगलबार) लाइन जोड्ने निर्णय गरिएको हाे । तीन महिनाभित्र डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता महसुल उठाउने निर्णय समेत गरिएको बताइएकाे छ ।

डेडिकेटेट र ट्रकं लाइनको प्रिमियम महसुल वक्यौता असुल गर्ने सम्बन्धमा प्राधिकरण र उद्याेगबीच विवाद हुँदा गएको असार २५ गतेदेखि महसुल नतिरेको भन्दै प्राधिकरणले ६ उद्योगमा लाइन काटेको थियो ।

प्राधिकरणले रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्याेगहरूमा काटिएकाे विद्युत्‌काे लाइन जाेड्न निर्देशन दिएका थिए ।

प्राधिकरणले उद्याेगहरूलाई आगामी तीन महिनाभित्र वक्यौता तिर्न समय थपेकाे छ । ‘तीन महिनाभित्र उद्योगीहरूको वक्यौता विद्युत् महसुल भुक्तानी नगरेमा पुनः वक्यौता असुल उपर गर्न कारबाही अगाडि बढाउने गरी विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरूको विद्युत लाइन जोड्ने,’ निर्णयमा भनिएको छ ।