सांसदहरुले मागे प्राधिकरणका कार्यकारी निर्देशक प्रदीप अधिकारीको राजीनामा

सांसदहरुले मागे प्राधिकरणका कार्यकारी निर्देशक प्रदीप अधिकारीको राजीनामा


ग्लोब नेपाल
189
Shares

काठमाडौं । सांसदहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक प्रदीप अधिकारीको राजीनामा मागेका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बिहीबार अधिकांश सांसद जहाज दुर्घटनाको कारण पत्ता लगाएर दुर्घटना न्यूनीकरण गर्न कुनै प्रयास नगरेको भन्दै अधिकारीमाथि खनिए ।

अधिकारीले प्राधिकरणको नेतृत्व सम्हालेपछि मुलुकमा ७ भन्दा बढी ठूला हवाई दुर्घटना भएको सांसदहरुको भनाइ थियो ।पछिल्लो १९ महिनामा पटकपटक हवाई सुरक्षाको क्षेत्रमा भएको कामको प्रगति विवरण माग्दा उपलब्ध नगराएकामा अधिकारीप्रति रोष प्रकट गरे । हवाई दुर्घटना रोक्न र युरोपेली संघको कालोसूचीबाट हटाउन कुनै सुधार नगरेकाले अधिकारीले नैतिक रुपमा जिम्मेवारीमा बस्न नमिल्ने तर्क सांसदहरुको छ ।

कांग्रेस सांसद उदयसमशेर जबराले महानिर्देशक पअधिकारीले आफ्नो कार्यकाल आरम्भ भएदेखि हालसम्मका ७ वटा हवाई दुर्घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले अधिकारी प्राधिकरणको महानिर्देशक भएपछिका ७ हवाई दुर्घटनामा १ सय १८ जनाको ज्यान गएको भन्दै त्यसको जिम्मेवारी उनले लिनुपर्ने उल्लेख गरे ।

सांसदहरुको चर्को आलोचनापछि अधिकारीले दुर्घटनाको नैतिक जिम्मेवारी लिन आफू तयार रहेको बताए । अधिकारीले बुधबार भएको सौर्य एयरको जहाज दुर्घटना अध्ययन गर्न मन्त्रिपरिषदले समिति गठन गरेको भन्दै उक्त समितिले जसलाई दोषी औंल्याउँछ उही जिम्मेवार हुने तर्क गरे ।