पार्टी संसदीय दलको उपनेता चयन गर्नु पर्छ : शशांक कोइराला

पार्टी संसदीय दलको उपनेता चयन गर्नु पर्छ : शशांक कोइराला



काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी संसदीय दलको उपनेता चयन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । पार्टीका पूर्व महामन्त्री समेत रहनुभएका कोइरालाले दलको नेताको अनुपस्थितिमा कार्यभार सम्हाल्नुपर्ने भएकाले पनि सभापति देउवाले उपयुक्त व्यक्तिलाई संसदीय दलको उपनेता चयन गर्न ढिलाई गर्न नहुने बताए ।

उनले सभापति देउवाले उपनेता किन चयन नगरेको भन्दै प्रश्न गरे । पार्टीका सिनियर नेतामध्येबाट उनले संसदीय दलको उपनेता बनाउनुपर्ने महामन्त्री कोइरालाको भनाइ थियो । उनले आफूलाई सो जिम्मेवारी दिए स्वीकार गर्ने पनि बताए ।

नेता कोइरालाले भने, ‘उपनेता त उनले चयन गर्नुपर्ने हो । मलाई पनि लाग्छ– उपनेता बनाउनुपर्छ । उपनेता हुनुपर्छ । तर किन त्यो भएको छैन, शेरबहादुर देउवाजीलाई नै सोध्नुपर्ला । त्यो किन बनाउनु भएन भनेर उहाँलाई नै सोध्नुपर्छ ? मलाई यसको बारेमा थाहा भएन । बनाउनुपर्ने हो । किन बनाउनु भएन ? म त आकांक्षी होइन । तर बनाउनु हुन्छ भने त अब मैले नाई भन्दिन । तर उहाँले उपयुक्त व्यक्तिलाई बनाउनु पर्छ । सिनियर मान्छेलाई बनाउनुपर्छ भन्ने लाग्छ ।’