भरतपुर अस्पतालमा बिरामीको चाप धान्न मुश्किल

भरतपुर अस्पतालमा बिरामीको चाप धान्न मुश्किल



चितवन । चितवनको भरतपुर अस्पतालमा बिरामीको चाप धान्न मुश्किल भएको छ । बिरामीकाे चापकै कारण अस्पतालको अर्थाेपेडिक विभागमा आज दुई सय ५० जनाले मात्रै बहिरङ्ग सेवामा टिकट पाएका छन् ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट कृष्णप्रसाद पौडेलले आज बिहान मातहतका कर्मचारीलाई दुई सय ५० जनाभन्दा धेरै जनाको टिकट नकाट्न निर्देशन दिएका छन् । हिजो टिकट काटेका एक सय जनाभन्दा धेरै बिरामी उपचार नलिई फर्किन परेकाले बिरामीलाई फर्काउनुभन्दा क्षमताअनुसार मात्रै टिकट उपलब्ध गराउनु उपयुक्त हुने उनको भनाइ छ ।

स्वास्थ्य बीमाको नियमअनुसार टिकट काटेको दिनमा मात्रै टिकटबाट सेवा लिन सकिन्छ । अर्काे दिन आउँदा नयाँ टिकट लिनुपर्ने हुन्छ । मेडिसिन विभागमा मात्रै दैनिक पाँच सय जनाभन्दा धेरै बिरामी आउने बताउँदै डा. पौडेलले कतिपयले टिकट काट्नै नपाउने अवस्था रहेको उल्लेख गरे । स्वास्थ्य बीमामार्फत सेवा लिनेको घुइँचो, सीमित जनशक्तिलगायत कारण लामो लाइन बसेर काटेको टिकटबाट कतिपयले उपचार नलिई फर्किनुपरेको उनले स्वीकारे ।

डा. पौडेलका अनुसार पत्थरीको शल्यक्रियाका लागि एक वर्ष दुई महिनापछिको पालो दिनुपर्ने अवस्था छ । अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले बिरामीले टिकट नपाएको गुनासो आउन थालेपछि बहिरङ्गको समय बढाउने गरी विकास समितिले निर्णय गरेको बताए ।