काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन । आज सोमबार संसदीय सुनुवाइ समितिका सभापतिलाई सम्बोधन गर्दै प्रधानले यस्तो बताएका हुन ।
उनले दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेको प्रतिक्रिया पनि दिएका छन । उनले नेपालको संविधान र संसदीय सुनुवाइ समितिको प्रक्रियाको सम्बन्धमा आफ्नो उच्च विश्वास रहेको पनि बताएका छन ।
प्रधानले समितिलाई दिएको पत्रमा उनले भनेका छन, ‘मेरो सम्बन्धमा संवैधानिक परिषद्को सिफारिसप्रति निष्ठावान् रहँदा रहँदै पनि म केन्द्रित मौजुदा दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेकोले भविष्यमा राज्यले प्रदान गर्ने जुनसुकै जिम्मेवारी प्रति निष्ठावान् रहने बचनबद्धता सहित सिफारिस भएको निर्वाचन आयोगको आयुक्त पदमा नियुक्तिको लागि मेरो उम्मेदवारी कायम राख्न नचाहेकोले सम्मानित समिति समक्ष जानकारीको लागि अनुरोध गर्दै सो अनुसार व्यवस्था हुन सविनय अनुरोध गर्दछु ।’
को हुन् कृष्णमान प्रधान ?
२०२४ साल भदौ ११ मा प्रधान नुवाकोटको तारकेश्वर गाउँपालिका–३ स्थित चन्दनीमा जन्मिएका हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट ‘स्थानीय सरकार र लोकतन्त्र’ विषयमा विद्यावारिधि गरिरहेका छन् । ०६३ सालमा राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनले कानुन र व्यवस्थापनमा स्नातक गरेका छन् ।
हाल उनी काठमाडौंस्थित बबरमहलमा बस्दै आएका छन् ।
उनी ०४८ सालदेखि अहिलेसम्म नेपाल कानुन समाजको कार्यकारी निर्देशक छन् । उनी ०४८ सालदेखि आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) महासचिव छन् । उनी ०५० सालदेखि ग्रामीण विकास प्रतिष्ठानका अध्यक्ष पनि छन् । उनी राष्ट्रिय न्यायिक प्रतिष्ठानमा पनि सक्रिय छन् ।
उनी कार्यकारी निर्देशक रहेको नेपाल कानुन समाजले कानुनी शासन, स्वतन्त्र न्यायपालिका, मानव अधिकार, निर्वाचन सुशासन तथा समावेशी लोकतन्त्रको क्षेत्रमा नीति तथा कानुन तर्जुमा गर्न, सेवा प्रवाहमा प्रभावकारिता बढाउन तथा पैरवी गर्दै आएको छ ।
प्रतिक्रिया