काठमाडौं । सरकारले हिजो सोमबार २१ सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले अर्थसचिव मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरेको छ । यस्तै राजस्व सचिव रामप्रसाद घिमिरेलाई भने अर्थ मन्त्रालयमा ल्याइएको छ ।
उद्योग मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई राजस्व सचिवमा लगिँदा उपराष्ट्रपति कार्यालयकी राधिका अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीलाई भने सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ ।
श्रम मन्त्रालयका घनश्याम उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिँदा अख्तियारका रामेश्वर दंगाललाई उद्योग मन्त्रालयमा सरुवा गरिएको छ । मुकुन्दप्रसाद निरौलालाई भने श्रम मन्त्रालय लगिएको छ । यस्तै किरणराज शर्मालाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ । उहाँ यसअघि रक्षा मन्त्रालयमा कार्यरत हुनुहुन्थ्यो । वाणिज्य सचिवमा प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव मधुसूदन बुर्लाकोटीलाई लगिएको छ ।
यस्तै राष्ट्रपतिको कार्यालयबाट डिल्लीराम शर्मालाई लोकसेवा आयोगमा सरुवा गरिँदा लोकसेवाका सचिव राजकुमार श्रेष्ठलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरिएको छ । राष्ट्रपतिको कार्यालयमा नारायणप्रसाद दुवाडी, नेपाल ट्रस्टको कार्यालयमा रामाधार साह, खानेपानी मन्त्रालयमा प्रमिलादेवी वज्राचार्य र जल तथा ऊर्जा आयोगमा सुरेश आचार्यलाई सरकारले सरुवा गरेको छ ।
भरतमणि सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुर्याइएको छ । यसअघि उहाँ खरिद अनुगमन कार्यालयमा कार्यरत हुनुहुन्थ्यो । गोकर्णमणि दवाडीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट राष्ट्रिय तथ्यांक कार्यालय सरुवा गरिएको छ । यस्तै तथ्यांकका सचिव अर्जुनप्रसाद पोखरेल भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय सरुवा हुनुभएको छ ।
प्रतिक्रिया