काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहाल ‘राजन’ले एमाले अध्यक्ष केपी शर्मा ओली गैरकानुनी रूपमा प्रधानमन्त्रीमा नियुक्त भएको बताएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै दाहालले सर्वोच्च अदालतले गैरकानुनी नियुक्ति प्रक्रियालाई खारेज गर्ने विश्वास लिएको बताए ।
संविधानको धारा ७६ को २ अन्तर्गत बनेको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः धारा ७६ (३) सक्रिय भई प्रधानमन्त्री नियुक्त भएको विगतको नजिरलाई अस्वीकार गर्दै राष्ट्रपतिले गैरकानुनी प्रधानमन्त्री नियुक्त गरेकाे उनकाे आराेप छ ।
उनले भने, ‘अस्वाभाविक, अपवित्र र बदनियतपूर्ण गठबन्धनको जगमा निर्माण भएको सरकारका प्रधानमन्त्रीले सङ्ख्यात्मक हिसाबले विश्वासको मत लिइसक्नुभएको छ । संविधानको धारा ७६ को २ अन्तर्गत बनेको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः धारा ७६ (३) सक्रिय भई प्रधानमन्त्री नियुक्त भएको विगतको नजिरलाई अस्वीकार गर्दै राष्ट्रपतिज्यूले गैरकानुनी प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । सो गैरकानुनी नियुक्तिको विषयमा सम्मानित सर्वोच्च अदालतमा मुद्दा परेको छ र त्यसको पेशी साउन ३० गते तोकिएको छ । मलाई विश्वास छ सर्वोच्च अदालतले गैरकानुनी नियुक्ति प्रक्रियालाई खारेज गर्नेछ र संविधान संवत् प्रधानमन्त्री नियुक्त गर्नेछ ।’
प्रतिक्रिया