काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू गाउँगाउँमा जनताको घरमा जाने बताएका छन् ।
पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा जारी पदाधिकारी बैठकमा बोल्दै उनले यसपछि बस्ने केन्द्रीय समिति बैठकपछि आफू देशभर जनतामा जाने बताए । प्रचण्डले जनसम्बन्ध विस्तारको लक्ष्यसहित आफू जनतामाझ जाने बताएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
सङ्गठन विस्तार, नेता तथा तल्ला तहका कार्यकर्ताको भावना बुझ्न र पार्टीलाई नयाँ आधारमा रूपान्तरण गर्ने लक्ष्यका साथ आफू देशभर विशेष कार्यक्रम लिएर जाने योजनामा रहेको उनले बताए ।
सरकारमा रहँदा जनतासँग पार्टीको सम्बन्ध टुटेको भन्ने नेताहरूको भनाइपछि अध्यक्ष दाहालले नयाँ आधारमा जनसम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ आफू र पार्टीका शीर्ष नेता देशभर जानैपर्ने बताए ।
सरकारमा रहँदा सुशासन र सामाजिक न्यायका पक्षमा सञ्चालन गरेको कामलाई जनतामाझ लैजाने र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा सञ्चालित अभियानलाई निरन्तरता दिन सरकारलाई जनस्तरबाट दबाव दिने निष्कर्षसमेत बैठकले निकालेको प्रवक्ता सापकोटाले बताए।
आगामी ०८४ मा हुने आमनिर्वाचनमा माओवादी केन्द्रले कुनै दलसँग गठनबन्धन नगरी एक्लै निर्वाचनमा सहभागी हुने बताएको छ । सङ्घीय संसद्मा प्रभावकारी रूपमा प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्ने, त्यसका लागि जनताका दैनिक समस्यालाई प्रभावकारी रूपमा राख्ने र समाधानका लागि सरकारलाई दबाब दिने योजना माओवादी केन्द्रले बनाएको छ ।
आफूहरूलाई जनतामा जाने सुवर्ण अवसर प्राप्त भएको निष्कर्ष निकाल्दै माओवादी केन्द्रले आगामी केन्द्रीय समितिको बैठकपछि पार्टीको शीर्ष नेतृत्व नै देश दौडाहामा लाग्ने जनाएको छ । माओवादीले यही साउन २५ गते स्थायी समितिको बैठक बोलाएको प्रवक्ता सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया