गुरु बराल एमालेको उपाध्यक्ष मनोनीत

गुरु बराल एमालेको उपाध्यक्ष मनोनीत

प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर, केन्द्रीय सदस्यमा १७ जना मनोनित



काठमाडौं । नेकपा एमालेका उपाध्यक्षमा गुरुप्रसाद बराल मनोनीत भएका छन् । होटल बसेरामा बसेको सचिवालय बैठकले बराललाई उपाध्यक्ष मनोनीत गरेको हो । सुवास नेम्वाङको निधनपछि रिक्त स्थानमा बराललाई मनोनीत गरिएको हो ।

बैठकले मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय गरेको छ । श्रेष्ठ हाल पार्टीको मधेस प्रदेशका पोलिटब्युरो सदस्य रहेकामा एमालेले स्थायी कमिटी सदस्य बनाएको हो ।

न्यौपाने केही अघि नेकपा एकीकृत समाजवादी परित्याग गरेर एमालेमै फर्किएका थिए ।

त्यसैगरी सचिवालय बैठकले सचिवद्‍वय पद्‍मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरेको छ । पार्टी सचिव अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका छन् । बाँकी प्रदेशमा नयाँ इन्चार्ज आएका छन् ।

कोशीको इन्चार्जमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटी प्रदेश इन्चार्ज बनेका छन् ।

यसअघि कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज थिए ।

सचिवहरु गोकर्ण, योगेश, रघुबीर र छबिलाल विश्वकर्माले भने चुनाव जितकाले दोहोरो जिम्मेवारी नदिने नीति अन्तर्गत इन्चार्जबाट हटेका एक नेताले बताए ।

केन्द्रीय सदस्यमा १७ जना मनोनित

बिहीबार बसेको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरको हो । केन्द्रीय सदस्यमा मनोनित हुनेमा सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशहवा (रौतहट), जितेन्द्र देव (सप्तरी), रामपृत राम (सिराहा) रहेका छन् । उनीहरु विभिन्न पार्टीबाट एमाले प्रवेश गरेका हुन् ।

त्यस्तै एमालेका पुराना कार्यकर्तामध्ये कृष्णभक्त पोखरेल, कमल तिमिल्सिना (अछाम), महेश बर्तौला (मकवानपुर) रहेका छन् । त्यसैगरी सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बाग्लुङ), आशा जगेबु (पाँचथर) पनि एमाले केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

त्यसैगरी एमालेले निर्वाचन आयोगमा अमनसिंह तामाङ (सिन्धुपाल्चोक), झवी पोखरेल (कपिलबस्तु), नर्मदा भण्डारी (गुल्मी), रत्ना गुरुङ (काठमाडौं), कमला केसी (कैलाली) मनोनित भएका छन् । मायानाथ अधिकारी अनुशासन आयोगको सदस्यमा मनोनित भएका छन् ।

एमालेले सल्लाहकार परिषद सदस्यमा पनि नेताहरुलाई मनोनयन गरेको छ । जसमा कुलानन्द गिरी (रोल्पा), महेन्द्र थापा (रोल्पा), पिएल श्रेष्ठ (तनहुँ), शिवचन्द्र कुशहवा (बारा), रामप्रित पासवान (सप्तरी), एकवाल मियाँ (कपिलबस्तु), डा. गोपाल खनाल (नवलपुर), खालित हुँसेन हक (सुनसरी) मनोनित भएका छन् ।

हरि रिजाल (प्युठान), प्रेमबहादुर सिंह (कालिकोट), कृष्णप्रसाद दाहाल (मकवानपुर), विनु ढकाल (मोरङ), सानु श्रेष्ठ (बागमती) सिर्जना शर्मा (गण्डकी), प्रदीप भण्डारी (कोशी), अर्जुनबहादुर थापा (सुदुरपश्चिम), श्याम ढकाल (बर्दिया), नारायण मरासिनी (स्याङ्जा), धनेन्द्र घिमिरे (पाल्पा), नन्दलाल रोकाया (बाँके), जनक पौडेल (बागलुङ), मेघनाथ सुवेदी (पर्वत), नारायण मरासी (डोटी), सुवासचन्द्र ठकुरी (मकवानपुर) छन् ।