मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन कांग्रेस र एमालेको ह्विप

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन कांग्रेस र एमालेको ह्विप



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई विश्वासको मत नदिन कांग्रेस र एमालेले ह्विप जारी गरेका छन् । शुक्रबार बसेको कांग्रेस र एमालेको संसदीय दलको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिने निर्णय गरेका हुन् ।

कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिने निर्णय भएको जानकारी दिए ।

मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेश सभाको बैठकमा उनी विश्वासको मत लिन गइरहेका हुन् ।

बैठकमा अनिवार्य उपस्थित हुन र विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सोडारीले विश्वासको मत पाउन २७ मत आवश्यक पर्छ । सुदूरपश्चिममा कांंग्रेसका १८ र एमालेका ११ सांसद छन् ।

दुबै दलले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेसँगै सोडारीले विश्वासको मत नपाउने निश्चित भएको हो ।