काठमाडौं । केपी ओली सरकारमा कांग्रेसले दुई राज्यमन्त्री थपेको छ । कांग्रेसबाट रुपा विकलाई वन तथा वातावरण र पूर्णबहादुर तामाङलाई उर्जा, जलस्रोत र सिँचाई राज्यमन्त्री बनाएको छ । नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरीले पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
कांग्रेस–एमालेबीच राज्यमन्त्री थप्ने सहमति थियो, तर संख्या तोकिएको थिएन । पार्टीभित्रको असन्तुष्टि स्वरलाई सम्बन्ध गर्दै सभापति देउवाले विक र तामाङलाई राज्यमन्त्री बनाएका हुन् । महिला, दलित र जनजाति मन्त्रिमण्डलमा नसमेटिएको गुनासो व्यापक भएपछि सभापति देउवाले विक र तामाङलाई राज्यमन्त्रीमा सिफारिस गरेका हुन् ।
यी दुवै राज्यमन्त्री रणनीतिक हिसाबले सभापति देउवाले सिफारिस गरेका हुन् । विक लुम्बिनी प्रदेश, कपिलवस्तु क्षेत्र नं. १ की समानुपाति सांसद हुन् । उनी पार्टी सहमहामन्त्री किशोरसिंह राठोर र परराष्ट्रमन्त्री आरजु देउवा नजिक मानिन्छन् । ओली सरकारमा गृहमन्त्री नपाएर अरु मन्त्रालय त्यागेका राठोरलाई सभापति देउवा आफ्नो क्याम्पबाट टाढा गएको हेर्न चाहँदैनन् ।
लुम्बिनी प्रदेशका बालकृष्ण खाँणले देउवा क्याम्प त्यागेपछि राठोर नजिक भएका थिए । सभापति देउवा राठोरलाई गुमाउन चाहँदैनन । राठोरकै सिफारिसमा विकलाई राज्यमन्त्री बनाइएको हो । सभापति देउवाले क्राइटएरिया तोकेरै राठोरसँग मान्छे मागेका थिए । रुपा विक क्राइटएरियामा परेकाले राज्यमन्त्री बनेकी हुन् ।
पूर्णबहादुर चाहिँ विमलेन्द्र निधिका मान्छे हुन् । निर्माण व्यवसायी पृष्ठभूमि भएका तामाङ रामेछापका हुन् । सभापति देउवाले निधिलाई पनि आफ्नो ग्रिपभित्रै राख्नका लागि उनको नजिकको मान्छे तामाङलाई मन्त्री बनाएका हुन् । भनिन्छ, मध्य बानेश्वरमा रहेको निधि निवास तामाङले नै किनिदिएको हो ।
यता, यसअघिको प्रचण्ड सरकारमा पर्यटनमन्त्री बन्न खट्टा उचालेकी नागरिक उन्मुक्ति पार्टीकी संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई गम्भीर धक्का लागेको छ । पार्टीभित्र उनलाई एक्लो बनाउने रणनीतिका साथ अरुण चौधरीलाई राज्यमन्त्री बनाइएको छ ।
सरकार बाहिर भएपछि कमजोर महसुस गरेकी रञ्जिताले ओली सरकारमा पनि मन्त्री आश गरेरै विश्वास मत दिएकी थिइन् । तर उनलाई देखाउने गरी अर्को व्यक्तिलाई राज्यमन्त्री नियुक्त गरेपछि रञ्जिता हिस्स परेकी छन् ।
प्रतिक्रिया