काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् वाम एकताका लागि पहल गर्ने प्रस्ताव पार्टी स्थायी समिति बैठकमा राखेका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा शनिबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले समाजवादी मोर्चासँगै बृहत् वाम एकताका लागि पहल गर्ने प्रस्ताव गरेका हुन् ।
जनता बृहत् वाम एकता र कम्युनिस्ट पार्टी पुनर्गठनको पक्षमा रहेको भन्दै प्रवक्ता अग्नि सापकोटाले भने, ‘एकपल्ट बिग्रियो भनेर सधैँका लागि बिग्रिन होइन । बृहत् वामपन्थी एकता गर्दै अगाडि बढ्दा, अरु पार्टीहरू आउँदै गर्दा खासखास नेताहरू अहिले कम्युनिस्ट पार्टीको पुनर्गठन नचाहे पनि अन्तिममा अनिवार्य छ ।’
त्यसअघि पार्टीमा शुद्धीकरण अभियान चलाउने र एकताबद्ध बनाउने ‘प्रचण्ड’ले बताएका छन् । पार्टीको आठौँ महाधिवेशनले गरेको विचारको संश्लेषण गर्दै नयाँ ढंगले बहस गर्नुपर्ने उनले बताए । पार्टीमा शुद्धीकरण अभियान चलाउने, नयाँ कार्यक्रमसहित जनतामा जाने ‘प्रचण्ड’को जोड छ ।
उनको प्रस्तावमाथि बोल्ने नेताहरुले पनि शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिएको प्रवक्ता सापकोटाले बताए । उनले अगाडि भने, ‘अलिकति प्रदूषित भएको सबैले स्वीकार गरेका छन् ।’
प्रतिक्रिया