पार्टीमा नसोचेको गिरावट आउने खतरा देख्छु : शेखर कोइराला (पूर्णपाठ)

पार्टीमा नसोचेको गिरावट आउने खतरा देख्छु : शेखर कोइराला (पूर्णपाठ)



काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले राम्रो काम गर्न नसके पार्टीले नसोचेको क्षति व्यहोर्ने जनाएका छन् ।

आइतबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले कांग्रेसको मुख्य प्रतिस्पर्धी (एमाले)ले गठबन्धन सरकारको नेतृत्व गरिरहेकोले मन्त्रीहरूले राम्रो काम गर्न नसके पार्टीमा नसोचेको गिरावट आउने खतरा देखिएको बताएका हुन् ।

‘गठबन्धन सरकारको नेतृत्व हाम्रो राजनीतिक प्रतिस्पर्धीले गरिरहेका छन् । अहिले सरकारमा गएका हाम्रा साथीहरूले जनताको विश्वास र मन जित्ने गरी काम गर्न सकेनन् भने हाम्रो पार्टीमा नसोचेको गिरावट आउने खतरा म देख्छु,’ कोइरालाको भनाइ छ ।

डा कोइरालाका अनुसार वर्तमान गठबन्धनको प्रमुख कार्यभार संविधान संशोधनको प्रकिया अगाडि बढाउने हो । ‘वर्तमान गठबन्धन सरकार निर्माणको क्रममा संविधान सुधार र राजनीतिक स्थायित्वको कुरा गम्भीरतापूर्वक उठाइएको छ । छिटो-छिटो सरकार गठन र विघटन भैरहँदा विकासका गति अगाडि बढेनन् र जनताले सुशासनको अनुभूति गर्न पाएनन् भनेर मैले नै केही समयअगाडिदेखि भन्दै आइरहेको हुँ । तसर्थ दुई ठूला दल मिलेर सरकार बनाऔँ र संविधान संशोधनमार्फत देशमा राजनीतिक स्थायित्व दिऔँ भन्ने आवाज उठाएको हुँ ।’

दुई ठूला दल मिलेर बनेको सरकार वर्तमान परिस्थितिमा संसदीय गणितको घमण्ड र राजनीतिक आग्रह र पूर्वाग्रहमा नअल्झेर सोझै जनताप्रति उत्तरदायी हुन सक्दा मात्र अहिले देखिएका अनेकन लोकतन्त्रविरोधी शक्तिलाई परास्त गर्न सकिने उनकाे धारणा छ ।

नेता कोइरालाले बैठकमा राखेको धारणा

१. आजभन्दा झण्डै पाँच दशकअगाडि नेपाली कांग्रेसका पथप्रदर्शक जननायक बीपी कोइराला दक्षिण एसियामा उत्पन्न राजनीतिक उतारचढावले नेपालको राष्ट्रियता कमजोर हुन्छ भनी प्रवासबाट स्वदेश फर्कनुभएको थियो । प्रजातन्त्र र राष्ट्रियता एक अर्काका पूरक हुन् र यिनलाई भिन्न-भिन्न रूपमा हेर्नु हुन्न भन्ने उहाँको मान्यता थियो ।

आज फेरि एकपटक दक्षिण एसियामा राजनीतिक हलचल छाएको छ । निर्वाचित सरकारहरूमाथि धावा बोलिएको छ । जनताको अभिमतप्रति अविश्वासको खाडल निर्माण गरिँदै छ । अर्थात् दक्षिण एसिया अन्तर्राष्ट्रिय राजनीतिको क्रीडास्थल भएर नेपाल जस्तो देश चेपुवामा पर्ने सम्भावना बढेको छ ।

२. दक्षिण एसियाको राजनीतिक द्वन्द्वले नेपाल र नेपालीको मनोभावमाथि प्रभाव परेको म बुझ्दछु । यसमा यो केन्द्रीय कार्यसमिति गम्भीर हुनुपर्छ भनी मैले माथि बीपी कोइरालाको स्मरण गर्नुपरेको हो । मुलुक नसोचिएको संकटतर्फ जाने हो कि भन्ने चिन्ता सबै नेपालीमा छाएको छ । राष्ट्रियता र लोकतन्त्र कमजोर हुँदा घरेलु प्रतिक्रियावादी मात्र होइन, अन्तर्राष्ट्रिय शक्ति केन्द्रले पनि हामीमाथि रजाइँ गर्न पछि पर्दैनन् ।

३. बंगलादेशको घटनाले हामी सबैलाई उद्वेलित गरेको हुनुपर्छ । नेपालमा बंगलादेशको जस्तो घटना दोहोरिन नदिन राजनीतिमा मूल्यपद्धति र नैतिक पक्ष शसक्त हुनुपर्छ भन्ने पाठ बंगलादेश घटनाले हामीलाई सिकाएको छ । नेता र राजनीतिप्रति जनताको वितृष्णा बढ्दो छ । राजनीतिक दल, नेता, प्रणाली र संविधानमाथि नै जनता असन्तुष्ट छन् भनी अहिले नेपालमा एउटा ‘वेभ’ सिर्जना गर्न खोजिँदै छ । यसलाई मध्यनजर गर्दै राष्ट्रिय राजनीति अन्तर्राष्ट्रिय राजनीतिमा देखिएको असंगति र अस्थिरतालाई देशको जिम्मेवार र ठूलो दल भएको नाताले गम्भीरतापूर्वक सोचौँ ।

४. वर्तमान गठबन्धन सरकार निर्माणको क्रममा संविधान सुधार र राजनीतिक स्थायित्वको कुरा गम्भीरतापूर्वक उठाइएको छ । छिटो-छिटो सरकार गठन र विघटन भैरहँदा विकासका गति अगाडि बढेनन् र जनताले सुशासनको अनुभूति गर्न पाएनन् भनेर मैले नै केही समयअगाडिदेखि भन्दै आइरहेको हुँ । तसर्थ दुई ठूला दल मिलेर सरकार बनाऔँ र संविधान संशोधनमार्फत देशमा राजनीतिक स्थायित्व दिऔँ भन्ने आवाज उठाएको हुँ ।

वर्तमान गठबन्धनको प्रमुख कार्यभार संविधान संशोधनको प्रकिया अगाडि बढाउने हो । नि:सन्देह दुई ठूला दल मिल्नुको औचित्य संविधान संशोधनलगायत साझा राष्ट्रिय कार्यसूची बनाएर जनभावनाअनुसार कार्यान्वयनमा लैजान सक्दा आमजनताको भरोसा र विश्वास जित्न सकिन्छ । नेपालको संंविधान आमनेपालीको साझा दस्तावेज हो । यसमा गरिने सुधारको प्रक्रिया अगाडि बढाउँदा संविधानको स्वीकारोक्तिमा आमनेपाली भावना जोडिनुपर्छ । त्यस्तै, साझा राष्ट्रिय कार्यसूची बनाउँदा नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा भएका प्रतिबद्धताहरूलाई बिर्सन मिल्दैन ।

दुई ठूला दल मिलेर बनेको सरकार वर्तमान परिस्थितिमा संसदीय गणितको घमण्ड र राजनीतिक आग्रह र पूर्वाग्रहमा अल्झेर होइन, सोझै जनताप्रति उत्तरदायी हुन सक्दा मात्र अहिले देखिएका अनेकन लोकतन्त्रविरोधी शक्तिलाई परास्त गर्न सकिन्छ ।

५. वर्तमान सरकार गठनको सन्दर्भमा नेपाली कांग्रेस र एमालेले सुशासनको धेरै प्रतिबद्धता गरेका छन् । तर, व्यवहारमा संघ र प्रदेशमा मन्त्रीहरू छनोटले सुशासनलाई जिस्काइरहेको छ । हामी किन यसरी सुशासनको सन्दर्भमा बारम्बर चुक्दै छौँ ?

६. सरकार छ भन्ने अनुभूति आमनागरिकलाई संकटको समय सबैभन्दा बढी हुन्छ । अहिले ती नेपालीहरूका बीच सरकार पुग्नुपर्छ जो बाढी, पहिरो, दुर्घटना र प्राकृतिक प्रकोपका अनेकन समस्याहरूसँग जुधदै छन् । तिनको उद्धार, राहत, उपचार र पुनर्स्थापना सरकारको प्रमुख दायित्य हो । म चाहन्छु– हामी संलग्न भएको सरकारले यस मानवीय कार्यलाई एकछिन पनि ढिलो नगरी सम्बोधन गर्ने सक्रियता देखाओस् ।

लोकतन्त्रमा मूल कुरा जनता र सरकारबीचको सम्बन्ध हो, सरकारप्रति आमनागरिकको भरोसा र विश्वास हो । यस्तो भरोसा र विश्वास सिर्जना गर्ने निकायहरू सरकारी सेवाप्रदायक संंवैधानिक संस्था र निकायहरू हुन् ।

सरकारी निकायमा राजनीतीकरण भएर तिनको प्रभावकारिता भुत्ते भएका छन् भनी हामीलाई स्वीकार्न कुनै संशय छैन । तर पनि केही सरकारी निकाय र संस्थाहरूले यसबीच नेपाली जनतामाझ आफ्नो औचित्य र उपादेयता प्रमाणित गरेका छन् । यस्ता संस्था र निकायहरूमा भएका कैयन् व्यक्तिले प्रतिकूल परिस्थितिमा पनि राष्ट्रले गौरव गर्ने काम गरेर अन्तर्राष्ट्रिय रूपमा पनि ख्याति कमाएका छन् ।

यहाँ म उदाहरण प्रस्तुत गर्न चाहन्नँ, तर खबरदारी भने नगरिरहन सक्दिनँ । फोहोरी राजनीतिक खेलको दुष्चक्रमा राष्ट्र निर्माणमा योगदान गरिरहेका मानिसहरू नपरून् । कसैप्रति राजनीतिक आस्थाविपरीत छ भनी बदलाको भावना राखी कारबाही नहोस, यसमा नेपाली कांग्रेस सतर्क हुन जती जरुरी छ वर्तमान सरकारलाई पनि त्यस दिशातर्फ जान नदिन सचेत गराउन पनि त्यत्तिकै जरुरी छ । लोकतन्त्रको जग तब मात्र बलियो हुन्छ, जब संस्थालाई लोकतन्त्रीकरण र पारदर्शी ढंगले चलाइन्छ ।

७. प्रदेश संरचनाका सम्बन्धमा

क) वर्तमान संविधान जारी भएको यतिका वर्ष भइसक्दा पनि प्रदेशले संविधानअनुरूप पाउनुपर्ने अधिकार पनि पाएका छैनन् । खासगरी वित्तीय संघीयता र प्रशासनिक संघीयतामा देखिएको कमजोरीले संघीयतासम्बन्धी गुनासो छ र यसको औचित्य स्थापित गर्न अप्ठ्यारो भइरहेको छ । तसर्थ दुई ठूला दल मिलेर सरकार बनाउनुको सार्थकता प्रदेशलाई हरेक प्रकारले सशक्त र प्रभावकारी बनाउनेतर्फ पहल गर्नुपर्छ ।

ख) नेपाली कांग्रेसको विधानमा प्रदेश कार्यसमितिलाई अझ बलियो बनाउने गरी विधान संशोधन गरौँ । केन्द्रले नियमन गर्ने र प्रदेशले कार्यक्रम गर्ने गरी संगठनका काम गर्ने व्यवस्था गरौँ ।

सभापतिज्यू,

८. तपाईंको नेतृत्वमा विगत आठ वर्षदेखि कांग्रेसले राष्ट्रिय राजनीतिमा निर्वाह गरेको भूमिकाको समीक्षा म यहाँ गर्न चाहन्नँ । कांग्रेस हिजो किन खुम्चियो र आज फेरि किन गठवन्धनको कारण ठूलो दलको रूपमा संसदमा उपस्थित छ, यद्यपि कांग्रेसको जनाधार खुम्चिएको निर्वाचनले देखाएको छ । यी सबैको वस्तुनिष्ठ समीक्षा गर्ने जिम्मा म इतिहासलाई छोडिदिन्छु ।

मेरो आग्रह सबै केन्द्रीय कार्यसमितिलाई साक्षी राखेर के मात्र छ भने कांग्रेसको पन्ध्रौँ महाधिवेशन लम्ब्याउने कुनै प्रपञ्च नगरौँ । पार्टीको विधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागि अविलम्ब समितिहरू बनाऔँ । १४औँ महाधिवेशनदेखि थाँती रहेका क्रियाशील सदस्यतालगायतका समस्याहरू तत्काल समाधान गरी २०८२ मंसिरमा १५औँ महाधिवेशन गर्ने सुनिश्चितता यही केन्द्रीय समिति बैठकले गरोस् । यो वा त्यो बहानामा महाधिवेशन सार्ने काम भयो भने त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजान्छ । ठीक चार वर्षमा कांग्रेसको महाधिवेशन होस् । मैले यसो भनिरहँदा म यहाँ बिग्रिएको प्रणालीलाई ट्र्याकमा ल्याउने मनसायबाट यो कुरामा जोड दिइरहेको छु । म क्रियाशील सदस्यता वितरण र महाधिवेशनका लागि जिम्मेवारी पाएका साथीहरूलाई पनि समयबद्ध कार्यतालिका बनाएर यथा समयमा पार्टी महाधिवेशन सम्पन्न गर्ने तयारीमा जुटौँ भनी विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु ।

९. अब पनि पार्टीलाई विधानअनुसार समयबद्ध तरिकाले सञ्चालन गर्ने परिपाटी नचलाई कहिलेबाट यो संस्कार विकसित गर्ने ? समय गुज्रेर गरिने कुनै पनि कार्य प्रभावकारी हुँदैन । अहिले पनि नबुझे कहिले बुझ्ने ? जसरी समय गुज्रेको औषधिले बिरामी निको पार्दैन, त्यसैगरी समयमा सम्पन्न हुनुपर्ने पार्टीका कामहरू नगर्दा त्यसको प्रभावकारिता हुन्न ।

१०. अहिले राजनीतिमा लोकरिझ्याइँ (पपुलिज्म) हावी भएको छ । हाम्रो पार्टी पनि लोकरिझ्याइँबाट अछुतो छैन । कांग्रेस पार्टीको आफ्नै मौलिकता, आदर्श र सिद्धान्त छ तर अहिले यसलाई बिर्सेर सामाजिक सञ्जाल र लोकरिझ्याइँले पार्टीलाई डोर्‍याउन खोजेको जस्तो देखिन्छ । यसले पार्टी कहाँ पुग्छ बेलैमा सोचौँ ।

अन्त्यमा, गठबन्धन सरकारको नेतृत्व हाम्रो राजनीतिक प्रतिस्पर्धीले गरिरहेका छन् । म यहाँ हाम्रो राजनीतिक प्रतिस्पर्धी कस्ता छन र भावी दिनमा के गर्लान् भनी अड्कल काट्न चाहन्नँ । तर, अहिले सरकारमा गएका हाम्रा साथीहरूले जनताको विश्वास र मन जित्ने गरी काम गर्न सकेनन् भने हाम्रो पार्टीमा नसोचेको गिरावट आउने खतरा म देख्छु ।

सुशासन केवल शब्द रटान र पार्टीको घोषणापत्रमा लेखिने कुरा मात्र होइन, आमनागरिकले अनुभूति गर्ने कुरा हो । कांग्रेस नवनिर्माणको बाटो पार्टीमा मूल्य र सिद्धान्तको नवनिर्माण अभियान, सरकारमा गएकाहरूको सुशासनप्रतिको निष्ठा र पार्टीमा आबद्ध साथीहरूको एकताबद्ध प्रयासबाट मात्र कांग्रेस रूपान्तरण सम्भव छ, तसर्थ भविष्यको कांग्रेसको नयाँ राजमार्ग यिनै बाटोबाट मात्र बन्छ भनी विश्वासका साथ हामी अघि बढौँ । जय नेपाल ।