काठमाडौं । यतिबेला नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक चलिरहेको छ । चार दिनदेखि जारी स्थायी कमिटीको बैठकमा एजेन्डा केन्द्रित छलफल चल्न सकेको छैन । संस्थापनविरुद्ध पार्टी उपमहासचिव जर्नादन शर्माले धारे हात लगाएपछि बैठक दन्तबझानमा सीमित भएको छ ।
नेता शर्माले लिखित प्रस्ताव पेस गरेर नेतृत्व छोड्न ३ वटा विकल्प लिखित रुपमा अघि सारेपछि स्थायी कमिटी बैठक बिथोलिएको हो । उपमहासचिव शर्माको यो ओपन च्यालेन्जले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को निद हराम भएको विश्लेषण गरिएको छ ।
कम्युनिष्ट पार्टीमा नेतृत्वलाई चुनौति दिनु भनेको कि आफू बनिनु हो अथवा आफू सकिनु भन्ने अर्थ लगाइन्छ । राजनीतिक विश्लेषक कुमार यात्रुका अनुसार मौजुदा नेतृत्वलाई विस्थापित गरेर अघि बढ्न सक्यो भने सफलता हात लाग्छ, यदि सकिएन भने पार्टीबाट किनारा लगाइन्छ । केही वर्षअघिसम्म त्यस्ता विद्रोहीको कत्लेआम नै गरिन्थ्यो, तर अहिले त्यो सम्भावना छैन । यसका लागि इतिहास कोट्याउनै पर्दैन, एमालेको पछिल्लो महाधिवेशन हेरे पुग्छ, विश्लेषक यात्रुले भने ।
उपमहासचिव शर्माले अध्यक्षको विरासत ताकेपछि पार्टी फुट्ने हो कि भन्ने संशय उत्पन्न भएको छ । पार्टी कार्यालयमा स्थायी कमिटीको बैठक चलिरहँदा बाहिर कार्यकर्ताको ठूलै भिड जम्मा हुनुले पनि गम्भीर विषयवस्तुमा छलफल भइरहेको सहजै अनुमान लगाउन सकिन्छ ।
यता, कार्यकर्तालाई शान्त पार्न अध्यक्ष प्रचण्डले उपमहासचिव शर्माको लिखित प्रस्तावलाई सहज रुपमा लिएका छन् । सोमबार बैठकबाट बाहिरिदै गर्दा अध्यक्ष प्रचण्डले सबै विवाद मिलेर जाने दाबी गरे । ‘केही छैन, सबै मिलेर जान्छन् । तपाईहरूलाई हो टेन्सन, हामीलाई केही भएको छैन’, सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले भने ।
पार्टीभित्र कमजोर ठानिएका उपमहासचिव शर्माले अध्यक्षको विरासत केको बलमा ताकेका हुन् भन्ने विषय यतिबेला महत्वपूर्ण रहेको छ । व्यक्तिगत रुपमा शर्माले पार्टीभित्र खासै प्रभाव राख्न सक्दैनन्, जति अर्का उपमहासचिव वर्षमान पुनले राख्छन् । यति हुँदाहुँदै पनि पार्टी नेतृत्वको विकल्प प्रस्तुत गर्ने आँट नेता शर्मालाई कहाँबाट आयो भन्ने खोजि भइरहेको छ ।
सधैं निर्दो भएर बस्नुभन्दा चुनौति दिएर पार्टी छाड्ने मनस्थिति नेता शर्माले बनाएको बुझिएको छ । उपमहासचिव शर्माले पार्टी त्यागे त्यसको प्रभाव के रहन्छ भन्ने विषयमा छलफल गर्दा आज सोमबार पार्टी बैठक ४ घन्टा ढिलो सुरु भएको थियो ।
प्रचण्डको पेलान सहन नसकेर पार्टी त्यागेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र लेखराज भट्टहरु एमालेमा अटाएका छन् । शर्मा पनि त्यत्तै अटाउने सम्भावना रहेकाले पार्टीभित्र विद्रोह गरेको जानकारहरु बताउँछन् । शर्मा स्वयमंले नै हिजो आइतबारको बैठकमा संस्थापनले आफूविरुद्ध पार्टी फुटाउन खोजेको हल्ला चलाएको बताएका थिए ।
प्रतिक्रिया