टीआरसी पास भएपछि सहमतिका साथ प्रभावकारी आयोग बनाउँछौं : प्रधानमन्त्री

टीआरसी पास भएपछि सहमतिका साथ प्रभावकारी आयोग बनाउँछौं : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसी विधेयक संसदबाट पास भएपछि सहमतिका साथ आयोगहरु बनाउने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले टीआरसी विधेयकमा सहमति जुट्नु खुसीको विषय भएको बताए ।

प्रतिनिधिसभाको कानुन समितिले सहमति जुटाएर टीआरसी विधेयक संसदमा पेश गरेको र आजै संसदले पास गर्ने तयारी रहेको भन्दै उनले अगाडि भने, ‘सर्वसम्मतिबाट पीडितमैत्री र कुनै करकापमा नपरी सहमतिका साथ यस दस्तावेज अगाडि बढाएका छौं । यो हामी सबैका लागि खुसीको विषय हो ।’

ऐन बनिसकेपछि यस अन्तरगतका आयोगहरु निर्माण गर्ने उनले बताए । ऐनले आयोगलाई काम गर्न अनुकलता प्रदान गरेको भन्दै उनले अगाडि भने, ‘सहमतिका साथ प्रभावकारी आयोग बन्ने छन् । त्यसलाई सरकारको तर्फबाट पूराकापूरा सहयोग हुन्छ ।’

ओलीले शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुग्न लाग्नु साकारात्मक पक्ष भएको बताएका छन् । “टीआरसी टुंगो लगाउनुपर्ने थियो । यस सम्बन्धमा हामीले अलिक ढिलो गर्याैं । शान्ति प्रक्रिया ०६३ बाट सुरु भएयता १८ वर्षमा थुप्रै उपलब्धि हासिल गरेका छौँ,” उनले भने, “अन्तिम टुंगो लागेको थिएन । केही विषय अल्झिएका थिए । तिनको गाँठो फुकाउन जरुरी थियो । अहिले संसदीय समितिबाट सर्वसम्मत आइसकेको छ ।”

उनले पीडितमैत्री रुपमा विधेयकलाई अघि बढाइएको बताए । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक ऐन बनेपछि सरकारको तर्फबाट पूरा सहयोग हुने बताए ।

“शान्तिका पक्षधरहरूका लागि खुसीको विषय छ । यो ऐन बनिसकेपछि आयोग निर्माण गर्नेछौँ,” उनले भने, “सहमतिका साथ प्रभावकारी आयोग बन्छ । सरकारको तर्फबाट पूरा सहयोग हुन्छ ।”

ओलीले नेपाल छोटो अवधिभित्र द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश दिन सफल हुने पनि बताए ।