संविधान संशोधनीय दस्ताबेज हो : प्रधानमन्त्री ओली

संविधान संशोधनीय दस्ताबेज हो : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनीय दस्ताबेज भएको स्पष्ट पारेका छन् । तर, संशोधन भन्दैमा प्रतिगमनबारे भने सोच्न नसकिने स्पष्ट पारे ।

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले लोकतन्त्रका लागि लडेर आएको दलले फेरि प्रतिगमन सोच्नै नसक्ने बताए । संविधान संशोधनका नाममा एमालेसहितका दल प्रतिगमनतर्फ अघि बढ्न खोजेको माओवादीसहितका प्रतिपक्षी दलले आरोप लगाइरहेको बेला ओलीले यस्तो स्पष्ट पारेका हुन् ।

‘हामीले लोकतन्त्रका लागि लडेका छौँ । संघर्ष र त्याग ख्यालख्यालको कुरा होइन’, उनले भने, ‘हामीले संघर्ष गरेर यो प्रणाली स्थापना गरेका छौँ । टिकाउ भनेको लोकतन्त्र मात्रै हो । यो लोकतन्त्र, लोकतान्त्रिक प्रणाली र यसलाई व्यवस्थित गर्नका निम्ति प्रतिबद्ध छौँ ।’

उनले संविधान संशोधनका कुरा कहिलेकाहिँ उठ्न भन्दै अहिलेको सरकारले पनि आवश्यकताको आधारमा संशोधन गर्ने भनेको स्पष्ट पारे । ‘यसको अर्थ प्रतिगमन गर्छ भनेर कसरी सोच्न सकिन्छ ?’, उनले भने, ‘हामीले जेका लागि यति दुखकष्ट भोगेर यो परिणाममा ल्याका छौँ, जनप्रतिनिधि भएका छौँ । र जनतासँग बाचा बन्धन पनि गरेका छौँ । बाचा र हस्ताक्षरको बन्धन बन्धन सानो कुरा होइन ।’

उनले लोकतान्त्रिक प्रणाली मासेर जाने कहाँ ? भन्ने प्रश्न गर्दै कुनै पनि हालतमा तानाशाही ठीक छ भनेर भन्न नसकिने बताए । ‘हामी त अधिनायकवादका विरुद्ध लडेर आएका हौँ । हाम्रो विश्वास लोकन्त्रमाथि मात्रै छ’, उनले भने, ‘विश्वास नभई ज्यान दिन सकिँदैन, गर्धन थाप्न सकिँदैन । तसर्थ म फेरि भन्छुु संविधान संशोधनीय दस्ताबजेज हो । संशोधन लोकतान्त्रिक मूल्य मान्यतालाई व्यवहारिक बनाउन संविधान संशोधन हुनसक्छ ।’

उनले लोकतान्त्रिक गणतन्त्रप्रति बाचा गरेको भन्दै त्यो बाचा सानो नभएको बताए । ‘बाचा बन्धन सानो कुरा होइन’, प्रधानमन्त्रीले भने, ‘र हामीले लिखत सिग्नेचर पनि गरेका छौँ, यो सानो कुरा होइन ।’

उनले लोकतान्त्रिक प्रणाली मासेर जाने कहाँ ? भन्दै प्रश्न पनि गरे । उनले तानासाही ठिक छ भनेर त्यसकैविरुद्ध कसरी लड्न सकिन्छ भन्दै अधिनायकविरुद्ध लडेर आएकाले संविधान असंशोधनीय दस्ताबेज नभएको बताए ।

‘लोकतन्त्र, सुशासन र विकासलाई प्रभावकारी बनाउने कुरामा संविधानका धारा उपधारा फेरबदल गर्न नसकिने होइन’, उनले भने, ‘यसको अर्थ जे मन लाग्यो त्यही गर्ने भनेको होइन । संविधान दश जनता विकास र सुशासनका लागि हो ।’