राजनको सक्रियतामा ऋषिबसे डाँडामा रक्तकाली मन्दिर

राजनको सक्रियतामा ऋषिबसे डाँडामा रक्तकाली मन्दिर


ग्लोब नेपाल
6.3k
Shares

काठमाडौं । लामो समय प्रवाशमा बिताएका राजन कार्की (ईन्द्र) को सक्रियतामा ओखलढुंगा चिसङ्खुगढी–४ ऋषिबसे डाँडामा रक्तकाली मन्दिर निर्माण हुने भएको छ । व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर कार्कीले बुधबार मन्दिरको शिलन्यास गरे । झन्डै १ सय ३० वर्ष पुरानो ठानिएको उक्त स्थानको रक्तकाली मन्दिर भग्नावशेषको रुपमा थियो ।

धेरै वर्ष विदेशमा बिताएका राजनले गाउँघरका लागि पनि केही योगदान दिने सोच बनाएका थिए । त्यही सोचअनुरुप भग्वनाशेषमा रहेको रत्तकाली मन्दिर निर्माण परियोजना अगाडि सारे । ऐतिहासिक, पुरातत्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको उक्त मन्दिर उनकै सक्रियतामा चन्दा संकलन गरेर निर्माण गर्न लागिएको हो । पाँच लाख रुपैयाँमा मन्दिर निर्माणको तयारी भएको छ, निर्माण कार्य छिट्टै सुरु हुने जानकारी दिँदै कार्कीले भने, ‘यस क्षेत्रका देशविदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरुबाट चन्दा संकलन गरेर मन्दिर निर्माण गर्न लागिएको हो ।’ उनका अनुसार यस क्षेत्रमा बसोबास गरेर हाल कर्मभूमि प्रवाश बनाएकाहरुले भावनात्मक एकता मात्र देखाएका छैनन्, मन्दिर निर्माणमा अपनत्वसमेत ग्रहण गरेका छन् ।

यो मन्दिरमा दशैं, चैतदशैं र भाकल पूजा हुने गरेको छ । पुरानो धार्मिकस्थल भए पनि कुनै संरचना नभएकाले मन्दिर निर्माण गर्न लागिएको व्यवस्थापन समितिका अध्यक्ष कार्कीले जानकारी दिए ।

स्थानीय महत्वका सानातिना कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति अन्त्य गर्न पनि चन्दा उठाएर मन्दिर निर्माण गर्न लागिएको बताइएको छ । मन्दिरका लागि पर्याप्त चन्दा संकलन भयो त भन्ने ग्लोब नेपालको जिज्ञासामा राजनले भने, ‘हामीले जति इस्टिमेट गरेका थियौं, त्यो पूरा भइसकेको छ । साउन मसान्तपछि सहयोग संकलनका लागि खोलिएको बैंक खाता बन्द गर्दैछौं ।

परापूर्वकालमा ऋषिमुनिहरुले बास गरेकाले नै ऋषिबसे डाँडा नाम रहन गएको जनश्रुति छ । ऋषिले पाइला राखेको स्थानलाई पवित्र मानिन्छ । त्यसैले ऋषिबसे डाँडा धार्मिक हिसाबले मात्र महत्वपूर्ण छैन, यसले पुरातात्विक र पर्यटकीय सम्भावना पनि यत्ति नै बोकेको छ । ऋषिमुनीहरुले बास गरेको उक्त डाँडा वरिपरी बस्ती छ । डाँडाबाट देखिने प्राकृतिक मनमोहक दृश्यले जोकोहीलाई पनि लोभ्याउने बताइएको छ ।