तनहुँमा प्राधिकरणले लाइन काटेपछि उपभोक्ताले विद्युत् महसुल बुझाउन थाले

तनहुँमा प्राधिकरणले लाइन काटेपछि उपभोक्ताले विद्युत् महसुल बुझाउन थाले



तनहुँ । बिजुलीको लाइन काटेपछि तनहुँका उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेका छन् । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले लाइन काटेर आर्थिक वर्ष २०८०/८१ मा दुई करोड ६८ लाख ४५ हजार रुपैयाँ बक्यौता सङ्कलन गरेको छ ।

केन्द्रका प्रमुख विजय रेग्मीका अनुसार एक हजार चार सय ३६ जना ग्राहकको लाइन काटिएकाेमा एक हजार दुई सय ७३ ग्राहकले बक्यौताबापतको रकम बुझाएका छन् । आर्थिक वर्ष २०७९/८० मा कार्यालयले नौ सय १८ जना ग्राहकको लाइन काटेकाेमा एक करोड ८४ लाख ६५ हजार रुपैयाँ बक्यौता सङ्कलन गरेको थियो ।

केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा ५३ करोड ९४ लाख ३१ हजार रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको छ । विद्युत् चुहावट नियन्त्रणका लागि केन्द्रले नचलेका मिटर निःशुल्क बदली, नाङ्गो तार हटाई केबल विस्तार, कन्डक्टर साइज स्तरोन्नति, ट्रान्सफर्मर लोड सेन्टर थप लगायत काम गरेको प्रमुख रेग्मीले बताए ।