काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी ल्याउनका लागि सरकारले वातावरण निर्माण गर्ने बताएका छन् ।
बुधबार इप्पान र उपायको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित अनलकिङ इन्भेस्टमेन्ट कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको समृद्धिका लागि जलस्रोतको उच्चतम उपयोग गर्नुपर्ने भन्दै ऊर्जा उत्पादन र निर्यातमा भन्दा पनि ऊर्जाको आन्तरिक खपतमा जोड दिनुपर्ने बताए ।
नेपालको अधिकतम उत्पादन नेपालमै खपत हुने गरी ठूलाठूला बहुराष्ट्रिय कम्पनीलाई नेपालमा उद्योग लगाउन प्रोत्साहन गर्ने नीति सरकारले लिने पनि पौडेलले बताए ।
ऊर्जा उत्पादनमा समय र जवानी लगाएका ऊर्जा उद्यमीहरूले समस्या छन् भनेर थाक्न नपाइने भन्दै मन्त्री पौडेलले समस्याहरू एक/एक गरी समाधान गर्न बृहत छलफलमा आउन ऊर्जा उद्यमीहरूलाई आग्रह गरे ।
नेपालको ऊर्जा क्षेत्रको यत्तिको प्रगतिलाई प्रगति मानेर बस्न नहुने भन्दै उनले हिउँदमा पनि विद्युत् आयात गर्न नपर्ने ठाउँमा नेपाललाई छिटो पुर्याउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया