बलबहादुरलाई पार्टी सभापति बनाउन गच्छदारको प्रस्ताव

बलबहादुरलाई पार्टी सभापति बनाउन गच्छदारको प्रस्ताव


ग्लोब नेपाल
5.8k
Shares

काठमाडौं । नेपाली काँग्रेसको जारी केन्द्रीय कार्य समिति बैठकमा नेताहरुले भावी सभापतिका बारेमा बहस सुरु गरेका छन् । कांग्रेस अधिवेशन आउन करिव २ बर्ष बाँकी रहँदा नेताहरुले पार्टीको भावी सभापतिका बारेमा नाम लिएर प्रस्ताव गर्न थालेका हुन ।

पार्टी मुख्यालय सानेपामा जारी कार्य समितिको हिजो शुक्रबार बसेको बैठकमा पदाधिकारी र पूर्व पदाधिकारीहरुले बोल्ने क्रम जारी छ । बैठकमा पूर्व सहमहामन्त्री विजयकुमार गच्छदारले सभापति देउवासँग भावी सभापतिका बारेमा निर्णय लिन ढिला गर्न नहुने धारणा राखेका थिए ।

नेता गच्छदारले सभापति देउवातर्फ फर्कँदै भने ‘अब तपाई नेपाली काँग्रेसको सभापति र पटक पटक प्रधानमन्त्री भइसक्नुभयो। यसमा म र अरु धेरै नेताहरुको सहयोग छ । तर अब तपार्इंले हामीलाई भन्नुपर्‍यो कि भावी नेतृत्व कसलाई दिने ?” बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने ।

नेता गच्छेदारले आफू पनि सभापतिका लागि उत्तिकै योग्य भएको तर देउवाले चाहेको व्यक्ति जसलाई सभापति बनाउन पनि आफू तयार रहेको धारणा राखे ।

बैठकमा नेता गच्छदारले भावी सभापतिका रुपमा बलबहादुर केसीलाई बनाउनु प्रस्ताव समेत देउवा समक्ष राखेका थिए ।

‘तपाईजस्तै अझ तपाईभन्दा बढी नेविसंघदेखि नै लडेर आउनुभएका बलबहादुर केसीलाई अबको सभापति बनाऔँ, म तयार छु । तर तपाइँले भन्नुपर्‍यो।” गच्छादारको भनाइ थियो ।

पटक पटक बलबहादुर केसीलाई सभापतिमा अघि सारौं भनेपछि अरु नेताहरु कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह जसलाई देउवाले चाहानुहुन्छ उसैलाई सभापति स्वीकार्न पनि आफू तयार रहेको धारणा नेता गच्छेदारले राखेका थिए ।

गच्छेदारले बोल्नुअघि नेताहरु सिटौला र केसीले बोलेका थिए ।