काठमाडौं । भ्रष्टाचारीलाई जोगाउने गरी कानून बनाउन लागिएको विरोधमा बृहत नागरिक आन्दोलनले राजधानीमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । भ्रष्टाचारजन्य कसुरमा ५ वर्षे हदम्यादसहितको प्रावधान राखेर कानून संशोधन गर्न लागिएको विरोधमा आन्दोलनले शनिबार माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरेको थियो ।
प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा धकेलाधकेल भयो । प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गर्न रोकेपछि दुई पक्षबीच तनावको वातावरण बनेको हो । वर्तमान प्रधानमन्त्री केपी ओली अघिल्लोपटक प्रधानमन्त्री भएका बेला भ्रष्टाचारजन्य कसुरमा हदम्याद राखेर कानून संशोधनको प्रक्रिया अघि बढाइएको थियो । राष्ट्रियसभाबाट त्यतिबेलै संशोधन भएको विधेयक ओलीले संसद विघटन गरेपछि भएको सत्ता परिवर्तनपछि रोकिएको थियो ।
ओली फेरि प्रधानमन्त्री बनेपछि सरकारले उक्त व्यवस्थासहितको ऐन संशोधन प्रक्रिया अघि बढाएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा एमालेबाहेक अधिकांश दलका सांसदले भ्रष्टाचारको कसुरमा ५ वर्षे प्रावधान राख्न नहुने अडान लिएका छन् ।
मन्त्रिपरिषदबाट नीतिगत निर्णयका नाममा हुने भ्रष्टाचारजन्य कसुरबाट उन्मुक्ति पाउनु नियतसहित सरकारले उक्त प्रावधान राखेर ऐन संशोधन गर्ने प्रयास गरिरहेको छ ।
प्रतिक्रिया