देउवाले पार्टी उपसभापति र महामन्त्रीलाई छलफलका लागि बोलाए

देउवाले पार्टी उपसभापति र महामन्त्रीलाई छलफलका लागि बोलाए

बैठक भोलि बिहान ११ बजे देउवा निवास बुढानीलकण्ठमा


ग्लोब नेपाल
1.4k
Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति र महामन्त्रीलाई छलफलको लागि बोलाएका छन्। उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलमा बोलाएका हुन्।

बैठक भोलि बिहान ११ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। महामन्त्रीद्वय थापा र शर्माले केन्द्रीय समिति बैठकमा पेस गरेको प्रतिवेदनको विषयले काँग्रेसमा विवाद छ। महामन्त्री थापाको चुनावी गठबन्धन नगर्ने र शर्माको ‘एक्जिट पोलिसी’ प्रस्तावमाथि संस्थापन पक्षको चर्को विरोध छ।

दुई महामन्त्रीको प्रतिवेदन केन्द्रीय समितिको बैठकबाट पारित गराउन मध्यमार्गी विकल्प खोज्नको लागि देउवाले बैठक राखेको बताइएको छ । साउन २३ गतेबाट सुरु भएको बैठक बुधबार टुङ्ग्याउने काँग्रेसको तयारी छ। बैठकमा अब सभापति, उपसभापति र महामन्त्रीले मात्रै बोल्न बाँकी छ।

पार्टीका पाँच शीर्ष नेताहरूले बोलेपछि महासमिति बैठकमा आएको सुझावलाई समेटेर परिमार्जित भएर आएको प्रतिवेदन पारित गर्ने तयारी गरेको छ।