बंगलादेशकाे विद्यार्थी आन्दोलनमा एक हजारभन्दा धेरैले गुमाए ज्यान

बंगलादेशकाे विद्यार्थी आन्दोलनमा एक हजारभन्दा धेरैले गुमाए ज्यान

चार सय जनाभन्दा धेरैको गुम्याे आँखाको ज्याेति



काठमाडौं । बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध गर्दै विद्यार्थीहरूले गरेको आन्दोलनका क्रममा एक हजार जनाभन्दा धेरैको ज्यान गएको पाइएको छ ।

बंगलादेशकी स्वास्थ्य सल्लाहकार नुरजहाँ बेगमले आन्दोलनका क्रममा एक हजार जनाभन्दा धेरैको ज्यान गएको र स्पष्ट विवरण तयार पार्ने काम भइरहेको बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यस्तै आन्दोलनका क्रममा चार सय जनाभन्दा धेरैले आँखाको ज्योति गुमाएका पनि उनले जानकारी दिएका छन् । राजरबाघमा रहेको केन्द्रीय प्रहरी अस्पतालमा आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न गएको समयमा उनले पत्रकारहरूसँग कुरा गर्दै क्षतिबारेमा जानकारी गराएका हुन् ।

यसअघि मानव अधिकार सहायता समाजले आठ सय १९ जनाको ज्यान गएको विवरण सार्वजनिक गरेको थियो ।

यस्तै जुलाई १६ देखि अगस्ट ११ सम्म आन्दोलनको क्रममा बंगलादेशमा ६ सय ५० जनाको ज्यान गएको मानव अधिकारका लागि यूएनको उच्च आयुक्तको कार्यालयको प्रारम्भिक प्रतिवेदनले देखाएको थियो ।