प्रकाश मोक्तानलाई घरमै पुगेर नागरिकता प्रदान

प्रकाश मोक्तानलाई घरमै पुगेर नागरिकता प्रदान



काठमाडौं । भोजपुरको षडानन्द गाउँपालिकाका प्रकाश मोक्तानलाई प्रशासनले घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।

प्रकाश सानैदेखि गाेरखाकाे चुमभ्यालीमा बसेको र घर परिवारसमेत थाहा नपाएको विषय युट्युब च्यानल ‘हेर्ने कथा’ मार्फत बाहिर आएको थियो । प्रकाशको घरपरिवार मात्रै नभई अहिलेसम्म नागरिकता नै नबनेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो व्यक्त गरेका थिए ।

आज प्रकाश मोक्तानलाई घरमै नागरिकता दिइएको षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासले जानकारी दिए । इलाका प्रशासन कार्यालयका दिङलाका प्रमुख विनोद ज्ञवाली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं, वडाअध्यक्ष प्रेम दोर्जी शेर्पा लगायतले प्रकाशलाई नागरिकता प्रदान गरेका हुन् ।

षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले अब प्रकाशलाई उनको योग्यताअनुसारको रोजगारी दिने बताएका छन् । विभिन्न दाताहरूले उनको घर बनाउने काम पनि शुरू गरिसकेका छन् ।