पशुपतिनाथमा तीजकाे तयारी पूरा, सकभर गरगहना नलगाउन र साना बालबच्चा नलैजान आग्रह

पशुपतिनाथमा तीजकाे तयारी पूरा, सकभर गरगहना नलगाउन र साना बालबच्चा नलैजान आग्रह



काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । महादेव पशुपतिनाथको मन्दिरमा भोलि लाखौं भक्तजन जाने गर्छन, भोलिको तयारी अन्तिम चरणमा पुगेको क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले तीजका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दन प्रसादको व्यवस्था, दर्शन मागको व्यवस्थापन अन्तिम चरणमा पुगेको आज आयाेजित पत्रकार सम्मेलनमा जानकारी गराए । भोलि अत्यधिक भीड हुने भएकाले सकभर गरगहना नलगाउन र साना बालबच्चा नलिइकन पशुपति आउन उनले आग्रह गरेका छन् ।

यस वर्षकाे हरितालिका तीजको अवसरमा पशुपतिनाथ आउने दर्शनार्थीहरूका लागि कोषले चार ठाउँबाट लाइनको व्यवस्था गरेको छ ।

कोषले दर्शनका लागि गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ता–चप्पल कक्षबाट फर्कने व्यवस्था मिलाएको छ ।

यस्तै मित्रपार्क–जयबागेश्वरी–गौशाला–भुवनेश्वरी–शङ्कराचार्य मठ दक्षिण हुँदै फलामेपुल–पश्चिम सानो ढाकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शङ्कराचार्य मठ दक्षिण जुत्ता–चप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको छ ।

यस्तै पिङ्गलास्थानबाट वनकाली–चार शिवालय–पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकासम्मको लाइनलाई ६४ सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व दक्षिण निर्माण गरिएको जुत्ता–चप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको छ ।

यस्तै तिलगङ्गा–राम मन्दिर हुँदै बाग्मती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने व्यवस्था मिलाइएको छ ।

दर्शनार्थीहरूले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार वटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।