काठमाडौं नछाड्न आफ्ना सांसदलाई एमालेको सर्कुलर

काठमाडौं नछाड्न आफ्ना सांसदलाई एमालेको सर्कुलर

उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी



काठमाडौं । नेकपा एमालेले आफ्ना सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौं नछाड्न सर्कुलर जारी गरेको छ । उपसभामुखलाई हटाउने तयारी भएसँगै एमालेले आन्तरिक सर्कुलर गरेकाे एक नेताले जानकारी दिए ।

एमालेले अब उपसभामुख इन्दिरा रानाले राजीनामा दिएर मार्गप्रशस्त गरिदिँदा राम्रो हुने बताएकाे छ । सत्तापक्षका मुख्य सचेतक तथा एमाले सांसद् महेश बर्तौलाले उपसभामुखलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका छन् । बर्तौलाले उपसभामुख रानाले पदीय आचरणविपरीत काम गरेको जिकिर गर्दै उनले नैतिकताका आधारमा राजीनामा दिँदा राम्रो हुने बताएका हुन् ।

उपसभामुख रानामगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।

चार पुरुष र एक महिलाका लागि उपसभामुखले पत्र लेखे पनि अमेरिका जान भने पाएका थिएनन् । २०२३ को फेब्रुअरीमा लेखेको त्यही पत्र केही समय अघि सार्वजनिक भएको थियो ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा समेत रानालाई हटाउनेबारे छलफल भएको उनले बताए । उनले भने, ‘उपभामुखले जुन ढंगले अमेरिकी दूतावासमा भिसाको डेटका लागि अनधिकृत पत्रचार गर्नुभयो । त्यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र मर्यादा उदांगाे भएको छ । संसदीय मर्यादा च्युत भएको छ । कूटनैतिक मर्यादालाई सामान्य रूपमा पनि ख्याल नगरेको देखिन्छ । यस मामिलामा उपसभामुख रानाले आफैले सोचेर राजीनामा दिनु बढ्ता हितकर हुन्छ ।’

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रस्ताव सत्ता गठबन्धनले संसदमा पेस गरे विरोध गर्ने बताएकाे छ ।

सत्ता गठबन्धनको बैठकमा उपसभामुखलाई हटाउने विषयमा छलफल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।