काठमाडौं । नेकपा एमालेका सांसदले उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सूर्य प्रसाद ढकालले सदनभित्र र र सदन बाहिर उपसभामुखको विषय उठेकाले राजीनामा दिनुपर्ने माग गरे । ‘नैतिकताको कुरा उठेको छ । पदीय मर्यादा र मानव तस्करीको कुरा उठेको छ‚’ उनले भने‚‘ उपसभामुखले राजीनामा दिन माग गर्दछु ।’
सांसद शोभा ज्ञवालीले उपसभामुख इन्दिरा राना मगरले केही व्यक्तिलाई अमेरिका पठाउने भनेर अमेरिकी दूतावासमा चिठ्ठी लेख्नु मानव तस्करी भएको आरोप लगाइन् ।
उनले रास्वपाले अन्य व्यक्तिको विषय जोड सँग उठाए पनि आफ्ना व्यक्तिको यथार्थ कुरा उठाउँदा आक्रोशित किन भएको भन्दै प्रश्न गरिन् ।
‘केही समय अघि उपसभामुखज्यूको अगुवाइमा अमेरिकाको कार्यक्रममा राजदूतावासलाई अन्य व्यक्ति पठाउने चिठ्ठी पठाएको मिडियामा आएको थियो । यथार्थ के हो ?‚’ उनले भनिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुखलाई पदबाट हटाउन खोजेको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख हटाउने विषयमा राजनीतिक दलहरूले छलफल गर्नु बेठीक भएको बताए ।
‘माननीय उपसभामुखलाई महाअभियोग लगाउने जस्तो कुरामा राजनीतिक पार्टीहरु बसेर छलफल गर्ने कुरा लोकतन्त्रका लागि कहिले पनि मान्य हुने छैन’ उनले भने ।
संवैधानिक परिषदमा सत्तापक्षको बहुमत पुग्दैन भन्ने नाममा उपसभामुखलाई हटाउन खोजिनु लोकतान्त्रिक हुन नसक्ने सांसद परियारले बताए ।
‘आज सम्मानित पदलाई परिषदलाई आफ्नो बहुमत पुग्दैन भन्ने नाममा लोकतन्त्रका लागि लडेका र आफूलाई लोकतन्त्रको मसिहा भन्ने पार्टीहरु गुपचुप सल्लाह गरेर उपसभामुखलाई पदबाट हटाउने जुन कर्म गर्ने तयारी गर्दै हुनुहुन्छ । स्मरण रहोस्– राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा पद गुमाउला तर लोकतन्त्रका लागि सधैं लड्नेछ, जनताको पक्षमा लड्नेछ’, उनले भने ।
प्रमुख सचेतक परियारले अहिले सहज छ भनेर कसैलाई हटाउने र अर्को व्यक्ति लैजाने गर्दा भविष्यमा आफैंलाई अप्ठ्यारो पर्न सक्नेतर्फ सचेत हुन कांग्रेस-एमालेलगायत सत्तारुढ दललाई आग्रह गरे ।
‘एक वर्ष तपाईंले जित्नुहोला, दुई वर्ष तपाईंले जित्नुहोला । स्मरण रहोस् तपाईंहरूले आफैले खनेको खाल्डोमा आफैँ पर्नुहुनेछ । यो पनि लेखेर राख्नुस्’ परियारले भने ।
प्रतिक्रिया