लुम्बिनी प्रदेशका वन मन्त्री कुर्मीले दिए राजीनामा

लुम्बिनी प्रदेशका वन मन्त्री कुर्मीले दिए राजीनामा



कपिलबस्तु । लुम्बिनी प्रदेशका वन मन्त्री बादशाह कुर्मीले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

उनले मंगलबार मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष राजीनामा बुझाएका हुन् । मन्त्री कुर्मीले बुधबारदेखि लागु हुनेगरी राजीनामा दिएको मुख्यमन्त्री आचार्यले बताए ।

बाँकेकी निर्मला कुर्मीलाई बेपत्ता तथा अपहरण पार्ने कार्यमा संलग्न रहेको आरोप कुर्मी माथि छ । अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप लागेका कुर्मीलाई मन्त्री बनाइएकोमा चर्को विरोध हुँदै आएको थियो ।

मन्त्री कुर्मीलाई बर्खास्त गर्न महिला अधिकार मञ्च बांके सहित विभिन्न संघ–संस्थाले एक महिनादेखि काठमाडौंमा धर्ना र माइतीघर मण्डला–बालुवाटार पैदलमार्च सम्मका आन्दोलन गरेका थिए । यस्तै नेपाल कम्युनिष्ट पार्टी (वहुमत)ले समेत मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाउंदै मन्त्री कुर्मीलाई कारवाही गर्न माग गरेको थियो ।