कोशी प्रदेश सरकारमा कोइराला समूहको मन्त्री पद खाली नै

कोशी प्रदेश सरकारमा कोइराला समूहको मन्त्री पद खाली नै


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । नेपाली काँग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ । काँग्रेसबाट ३ मन्त्री र १ राज्यमन्त्रीले शुक्रबार बिहान शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

काँग्रेस प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राई नेतृत्वमा प्रदेश सरकारमा सहभागी भएको हो । राईले भौतिक पूर्वाधारमन्त्रीको जिम्मेवारी पाएका छन् । यस्तै खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी र सदानन्द मण्डल पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त भएका छन् ।

भूमि राजवंशीलाई भौतिक पूर्वाधार राज्यमन्त्री बनाइएको छ । राई र राजवंशी नेता सिटौला समूह र हाङ्गाम र मण्डल संस्थापन समूहका हुन् । संस्थापन इतर शेखर कोइराला र गगन थापा समूहबाट एक मन्त्री र राज्यमन्त्री पद खाली नै छ । कोइरालाले आफ्नो समूहले दुई मन्त्री पाउनुपर्ने अडान राख्दै आएका थिए ।

कांग्रेस संस्थापनइतर अर्थात् शेखर गगन समूहले एक मन्त्री र एक राज्यमन्त्रीमा सहमति जनाइसकेको छ । तर आकांक्षी धेरै भएकाले कसलाई मन्त्री बनाउने भन्ने निर्णय लिन नसक्दा शुक्रबारको सपथग्रहणमा सहभागी हुन सकेनन् । मानबहादुर जबेगु, रामकुमार खत्री, भीम पराजुली, इन्दिरा थापालगायतका आकांक्षी देखिएका छन् । राज्यमन्त्रीमा इन्दिराको नाममा विवाद नरहे पनि जबेगु, खत्री र पराजुलीमध्येबाट एकजना मन्त्री हुनसक्ने बताइएको छ । पूर्वमुख्यमन्त्री केदार कार्कीले खत्रीको नाममा अडान नछाडेपछि शेखर निर्णयविहिन भएको बताइएको छ ।

शेखर गगन समूहकै कारण कांग्रेस प्रदेश सरकारमा सहभागी हुन ढिला भएको हो । काँग्रेसले गत १२ साउनमै एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरिसकेको थियो ।