काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज भएको पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कर्णाली प्रदेशलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मदैनमा भएको खेलमा एपीएफले कर्णालीलाई ६–० गोलले हराएको हो ।
एपीएफका लागि रश्मीकुमारी घिसिङले २ तथा निशा थोकर, गीता रानामगर, हिमा रावत र वर्षा ओलीले समान एक गोल गरे । यो जीतसँगै एपीएफ पाँच खेलमा १३ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । समान खेल खेलेको कर्णाली एक अंकका साथ नवौं स्थानमा छ ।
यस्तै दोस्रो खेलमा दिउँसो साढे ३ बजे बाग्मती युथ क्लब र रौतहटको चन्द्रपुर नगरपालिका खेल्दैछन् । चन्द्रपुर चार खेलमा पाँच अंकसहित छैटौं र बाग्मती युथ क्लब चार खेलमा तीन अंकसहित आठौं स्थानमा छन् । दुइटै खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।
प्रतिक्रिया