भारतको कोलकातामा शनिबार साँझ दुर्गा पूजा हेर्न जम्मा भएको भीडमा भागदौड हुँदा १९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १३ महिला र १ बालक छन्। घटनामा २५ जना घाइते भएका छन्।
कोलकाताको उत्तरी क्षेत्रमा रहेको सरदा पार्क (चोरबागान) दुर्गा पूजा पण्डालको बाहिर निस्कने ढोकामा साँझ करिब ७ बजेर ४० मिनेटमा भागदौड भएको प्रहरीले जनाएको छ। वर्षाका कारण पूजा हेर्न आएका मानिसको भीड बढेपछि घटना भएको प्रहरीको भनाइ छ।
घाइते सबैलाई उद्धार गरी मेडिकल कलेज तथा अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर छ। घटनापछि उद्धारका लागि प्रहरी, दमकल, विपद् व्यवस्थापन टोली र स्वास्थ्यकर्मीसहितका एम्बुलेन्स परिचालन गरिएको थियो। प्रहरीले उक्त पूजा पण्डालमा सर्वसाधारणको प्रवेश बन्द गराएको छ।
घटनाको अनुसन्धानका लागि प्रहरीले चोरबागान दुर्गा पूजा आयोजकसहित १२ जनालाई नियन्त्रणमा लिएको छ। पश्चिम बंगालका मुख्यमन्त्री सुवेन्दु अधिकारी र मुख्य सचिव मनोज अग्रवालले अस्पताल पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका छन्।
मुख्यमन्त्री अधिकारीले घटनाको कारण पत्ता लगाउन सीसीटीभी फुटेज जाँच गरिने बताएका छन्। भीड व्यवस्थापनमा आयोजक समिति, प्रहरी, निजी सुरक्षाकर्मी वा अन्य कसको कमजोरी थियो भन्ने विषयमा अनुसन्धान गरिने उनले बताए।
घटनामा मृत्यु भएका प्रत्येक व्यक्तिको परिवारलाई राज्य सरकारले २५ लाख भारतीय रुपैयाँ आर्थिक सहायता दिने र परिवारका एक सदस्यलाई सरकारी सेवाको समूह ‘डी’ अन्तर्गतको रोजगारी उपलब्ध गराउने मुख्यमन्त्री अधिकारीले घोषणा गरेका छन्।
दुर्घटना १० दिनसम्म मनाइने दुर्गा पूजा पर्वको सातौँ दिन अर्थात् सप्तमीका दिन भएको हो।


प्रतिक्रिया