मेटमणिलाई कारबाही गर्नुपर्छः झलनाथ खनाल

मेटमणिलाई कारबाही गर्नुपर्छः झलनाथ खनाल


ग्लोब नेपाल
162
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी उपमहासचिव एवं सांसद मेटमणि चौधरीलाई कारबाहीको माग गरेका छन् ।

खनालले विज्ञप्ति जारी गर्दै चौधरीको अभिव्यक्तिलाई राष्ट्रियताविरोधी र देशद्रोही अभिव्यक्तिको संज्ञा दिए । आफ्नो दलको नेता र सांसद मात्र होइन सामान्य मानिसले समेत त्यस्तो तल्लो स्तरको राष्ट्रघाती र देशद्रोही अभिव्यक्तिको कल्पना पनि गर्न नसक्ने उनको भनाइ छ ।

‘यो त सोह्रै आना राष्ट्रियताविरोधी अभिव्यक्ति हो । यो देशद्रोही अभिव्यक्ति पनि हो । यो हाम्रो एकीकृत मातृभूमिका विरुद्धको राष्ट्रघाती आवाज पनि हो’, खनालले भनेका छन्, ‘हाम्रो पार्टीजस्तो एउटा देशभक्त, समाजवादी र क्रान्तिकारी पार्टीका निम्ति यो त लज्जा र घृणाको विषय पनि हो । यस्तो पार्टीको कुनै नेताबाट मात्र होइन सामान्य कार्यकर्ता साधारण सदस्य तथा समर्थक र शुभेच्छुकहरूबाट पनि त्यस्ता अभिव्यक्ति आउनु असम्भव हुन्छ । आफ्नो मातृभूमिप्रति अलिकति पनि माया र सहानुभूति भएको कुनै सामान्य नागरिकबाट पनि यति तल्लो स्तरको राष्ट्रघाती र देशद्रोही अभिव्यक्तिको कल्पना पनि गर्न सकिन्न ।’ खनालले चौधरीलाई भारतीय नागरिक बोल्दैछ कि नेपाली नागरिक ? भन्दै प्रश्न गरे ।

पार्टी उपमहासचि र वहालवाला सांसदबाट यस्ता अभिव्यक्ति आउनु गम्भीरभन्दा गम्भीर अक्षम्य आपत्तिको विषय भएको खनालले बताए । चौधरीको अभिव्यक्तिबाट पार्टीपंक्ति र आम देशभक्त नेपाली जनतामा पार्टीको गरिमाप्रति गम्भीर प्रश्न उठेको खनालले उल्लेख गरे ।

चौधरीको अभिव्यक्तिले आमकार्यकर्ता, समर्थक र शुभेच्छुकहरूमा समेत तिखो आक्रोश र विरोधको भावना उत्पन्न भएको भन्दै चौधरीमाथि अविलम्ब कडा कारबाही गर्न माग गरेका छन् ।

‘यस्ता दूषित तत्वहरूबाट हाम्रो जस्तो क्रान्तिकारी र देशभक्त पार्टीलाई मुक्त बनाउन र पार्टीलाई एउटा स्वच्छ, दृढ, देशभक्त र समाजवादी पार्टीका रूपमा स्थापित गर्न म पार्टी नेतृत्वपंक्ति समक्ष जोडदार माग गर्दछु,’ खनालले भनेका छन् ।

चौधरीले एक टेलिभिजन अन्तर्वार्तामा चौधरीले कालापानी र लिपुलेक भारतीय भूमि भएको र उक्त भूमिमा नेपालको दाबी नपुग्ने अभिव्यक्ति दिएका थिए ।

यद्यपि चौधरीले विगतका शासकहरुले बुझाइसकेका कारण नेपालमा फिर्ता ल्याउन कठिन रहेको बताएको प्रष्टीकरण दिएका छन् । आफ्नो भनाइको आशयलाई बंग्याएर प्रस्तुत गरिएको उनको दाबी छ ।