नेपाल र ओमानबीच ओडीआईमा ७ खेलमा प्रतिस्पर्धा

नेपाल र ओमानबीच ओडीआईमा ७ खेलमा प्रतिस्पर्धा



काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग-२ मा आज ओमानसँग खेल्दैछ । क्यानडाको किंग सिटीमा मेपल लिफ नर्थ वेस्ट क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार आज राति ८ : ४५ मा खेल सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो । त्यसैले नेपाललाई आजको खेलमा जित्नुपर्ने दबाब छ । ओमानको भने यस सिरिजमा पहिलो खेल हो ।
नेपाल र ओमानबीच ओडीआईमा ७ खेल भएका छन् । नेपाल ३ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएकोछ ।

नेपाल र ओमानबीच पहिलो पटक सन् २०२० मा त्रिवि क्रिकेट मैदानमा आईसीसी विश्वकप लिग–२ मा प्रतिस्पर्धा भएको थियो । उक्त लिग–२ मा नेपाल दुबै खेलमा १८ रन र ८ विकेटले पराजित भएको थियो ।

त्यसपछि नेपालले सन् २०२१ मा अल अमरेतमा ओमानसँग लिग–२ खेलेको थियो । नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले ओमानलाई ७ विकेटले हराएको थियो ।

सन् २०२२ को जुनमा अमेरिकामा गएर नेपालले ओमानसँग लिग २ मा नै प्रतिस्पर्धा गरेको थियो । नेपाल पहिलो खेलमा १३ रनले पराजित हुँदा अर्कोमा ७ विकेटको जित हात पारेको थियो । एसीसी प्रिमियर कपमा नेपालले २०२३ मा त्रिवि मैदानमा ओमानलाई ८४ रनले हराएको थियो ।