५१ बर्षको उमेरमा ९ कक्षा भर्ना

५१ बर्षको उमेरमा ९ कक्षा भर्ना


ग्लोब नेपाल
216
Shares

गोरखा । पढाईलाई उमेरले छेक्दैन भन्ने उदाहरण बन्नुभएको छ नविन भट्ट । उमेरले उहाँ ५० वर्ष नाघिसक्नुभएको छ । हेर्दा लाग्छ, उनी नानीबाबुलाई सिकाउने शिक्षक हुन । तर उनी शिक्षक नभई आफूभन्दा निकै साना उमेरका विद्यार्थीहरुसँगै बसेर नौ कक्षामा पढ्छन् ।

गोरखा नगरपालिका–६ पाटेचौरस्थित शक्ति माविमा ५१ वर्षीय भट्ट कक्षा ९ मा भर्ना भएर पढिरहेका छन् । यसै शैक्षिक सत्रमा भर्ना भएका भट्टको पढाईप्रति देखाएको लगावबाट शिक्षक समेत दङ्ग छन् ।

भिमसेन थापा गाउपालिका–२ तान्द्राङका भट्ट दुइ बर्षपछि एसईई दिएर अबको १२ वर्षमा एमबिबिएस पढ्ने लक्ष्यका साथ विद्यालयमा भर्ना भएका हुन् । कक्षा ११ र १२ साइन्स पढेर त्यसपछि एमविविएस पढ्ने उनको लक्ष्य छ ।

घरयासी समस्याले पढाईलाई निरन्तरता दिन नपाएको उनले बताए । २०५३ सालमा एसएलसी फेल भएपछि पढाई छाडेका भट्ट २९ वर्षपछि फेरि विद्यालयमा पढ्न सुरु गरेका हुन् । शुरुका दिनमा छोराछोरी उमेरका सहपाठीसँग पढ्न धक लागे पनि अहिले सहज बनेको उनले बताए ।

विद्यालय समयको अलवा पनि नवीनले पढाईमा लगाव बढाएका छन् । उनले नजानेका कुरा शिक्षकलाई सोध्न गाह्रो मान्दैनन् । भर्ना भएको शुरुका दिनमा लेखाई ढिलो भए पनि अहिले लय समातेको उनी बताउँछन् ।

कक्षा ९ मा भर्ना भएका भट्टको पढाई राम्रो रहेको विद्यालयका प्रध्यानाध्यापक वद्री अर्याल बताउँछन् । भट्टलाई बस्नका लागि विद्यालयले होस्टेलको एउटा कोठा उपलब्ध गराएको छ ।