अमेरिका र बेलायतले दियो संविधान दिवसको शुभकामना

अमेरिका र बेलायतले दियो संविधान दिवसको शुभकामना

संबिधान दिवसको शुभकामना दिदै अमेरिकाले भन्यो- आर्थिक वृद्धिका निम्ति निरन्तर सहकार्य गर्न प्रतिबद्ध छौं


ग्लोब नेपाल
0
Shares

काठमाडौं । अमेरिका र बेलायतले संविधान दिवसको अवसरमा नेपाल सरकार र नेपाली जनतालाई शुभकामना पठाएका छन् । शुभकामना सन्देशमा अमेरिकाले आर्थिक वृद्धिका निम्ति निरन्तर सहकार्य गर्न प्रतिबद्ध गरिएको जनाएको छ भने बेलायती राजा चार्ल्सले राष्ट्रपति रामचन्द्र पौडेललाई शुभकामना पठाएका हुन् । काठमाडौंस्थित बेलायती दूतावासले राजा चार्ल्सको शुभकामना सन्देश बिहीबार सार्वजनिक गरेको हो ।

‘आज तपाईं र नेपालका जनताले राष्ट्रिय दिवसको विशेष दिन मनाइरहँदा, महामहिम र नेपाली जनतालाई बधाई दिन पाउँदा म र मेरी श्रीमती धेरै खुसी छौं,’ राजा चार्ल्सले पठाएको सन्देशमा छ । राजा चार्ल्सले शान्ति, समृद्धिका साथै वातावरण र जलवायु परिवर्तनबाट आगामी पुस्तालाई लाभ पुर्‍याउने जस्ता विश्वका महत्वपूर्ण मुद्दामा दुई देशबीच निरन्तर सहकार्य हुने प्रतिबद्धता जनाएका छन् ।

यता, अमेरिकाले जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय अवलम्बन तथा स्वच्छ ऊर्जा प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न प्रतिबद्ध रहेको बताएको छ । अमेरिकी सरकारकातर्फबाट विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालसँगको ७७ वर्ष पुरानो मैत्रीलाई अधिक महत्व दिएको जनाएको छ ।

विदेशमन्त्री एन्टोनी ब्लिङ्केनका तर्फबाट उक्त मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई नेपालको आर्थिक वृद्धिमा सघाउने अनुदान परियोजनाका रूपमा व्याख्या गर्दै , न्याय र प्रजातान्त्रिक मूल्यमान्यताको प्रवरद्र्धनका साथै जनस्तरको सम्बन्ध विस्तार र आर्थिक वृद्धिका निम्ति भविष्यमा पनि निरन्तर सहकार्य गर्न अमेरिका प्रतिबद्ध रहेको जनाइएको छ ।

ऐतिहासिक सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक हालै पारित भएकोलगायत लोकतान्त्रिक प्रणालीलाई सबल बनाउन नेपालले धेरै उपलब्धि हासिल गरेको महत्त्वपूर्ण क्षणमा अमेरिका पीडितहरूलाई न्याय दिलाउने दिशामा उक्त विधेयकको सफल कार्यान्वयनको प्रतीक्षा गरिरहेको वक्तव्यमा उल्लेख छ ।