काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गर्न गरेको प्रस्ताव मन्त्रीपरिषद बैठकबाट स्वीकृत भएको छ । हिजो बसेको मन्त्रिपरिषदबाट भक्तपुर क्यान्सर अस्पताल गठन आदेशसम्बन्धी मन्त्रालयको प्रस्ताव स्वीकृत भएको हो ।
यसअघि नेपाल अर्बुद रोग निवारण संस्थाबाट सरकारले आफैँ सञ्चालन गरेको अस्पतालका तीन सय जना भन्दा धेरै कर्मचारी गठन आदेशबिना नियमावली बन्न नसक्दा वृत्ति विकासबाट बञ्चित हुँदै आएका थिए । सरकारको निर्णयसँगै अस्पतालका सबै कर्मचारीहरु विकास समितिअन्तर्गत रहने भएका छन् ।
यसले लामो समयदेखि रोकिएको वृत्तिविकासका कारण परेको समस्या हल हुने भएको छ । मन्त्रिपरिषद् बैठकले विकास समिति गठन आदेश स्वीकृत गरेसँगै अब अस्पतालले विनियमावली निर्माण गरेर कर्मचारीको वृत्तिविकासमा काम गर्ने बाटो खुलेको छ । कर्मचारीको समस्या समाधान भए पछि अब आवश्यक स्वास्थ्य जनशक्ति पठाउनसमेत मन्त्रालयलाई सहज हुने वातावरण बनेको छ ।
यस्तै,मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदको उपाध्यक्षमा डा.अजित रायमाझीलाई ४ वर्षका लागि नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।
प्रतिक्रिया