वर्तमान संविधान नेपाली जनताको लामो संघर्षको दस्ताबेज हो : परराष्ट्रमन्त्री

वर्तमान संविधान नेपाली जनताको लामो संघर्षको दस्ताबेज हो : परराष्ट्रमन्त्री



काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताले आफ्ना जनप्रतिनिधिद्वारा संविधान लेख्ने प्रतिज्ञाका साथ गरेको निकै लामो संघर्ष र बलिदानको दस्ताबेज भएकाे बताएकी छन् ।

क्यानडाको ओटावास्थित नेपाली राजदूतावासद्वारा आयोजित राष्ट्रिय दिवस समारोहलाई सम्बोधन गर्नुहुँदै उनले लोकतान्त्रिक शासन व्यवस्थामार्फत संविधान तयार गर्न नेपाली जनताले निकै लामो सङ्घर्ष गर्नुपरेको धारणा राखिन् ।

क्यानडाली विदेशमन्त्री मेलानी जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुने क्रममा परराष्ट्र मन्त्री डा. राणा क्यानडामा छिन् ।

मन्त्री डा. राणाले भनिन्, “नेपालको संविधान २०७२ को घोषणा नेपाली इतिहासको एक महत्त्वपूर्ण क्षण हो । यो लोकतान्त्रिक संविधान नेपाली जनताको बृहत् सहभागितामा बनेको समावेशी र प्रतिनिधिमूलक संविधान सभाले निर्माण गरेको हो । त्यसैले यो नेपाली जनताको प्रत्यक्ष सहभागिताबाट निर्माण भएको संविधान हो ।”

“यसकारण पनि यो संविधानले नेपालको बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक भावनाको प्रतिनिधित्व गर्दछ र जसले समावेशी र लोकतान्त्रिक समाज निर्माणमा सहयोग पुर्‍याउँदछ”, परराष्ट्र मन्त्री डा. राणाले बताइन् ।

विश्वव्यापी रूपमा स्वीकार गरिएका मानवअधिकार र नागरिक स्वतन्त्रताका मान्यताहरूलाई सम्मान गर्नु यो संविधानको एक महत्त्वपूर्ण पक्ष हो भन्दै मन्त्री डा. राणाले यो संविधान शान्ति र समावेशिताको एक प्रतीक रहेको उल्लेख गरिन् ।

नेपालको यो संविधानले नागरिकका अधिकारहरूको संरक्षण गर्दै कानुनी राज्यको मूल्यमान्यता अनुसार हरेक क्षेत्र र तहका नागरिकलाई आत्मसम्मानका साथ बाँच्ने अधिकार प्रदान गरेको मन्त्री डा. राणाले चर्चा गरिन् ।

परराष्ट्र मन्त्री डा. राणाले यो संविधानले मुलुकमा पछि परेका तथा उपेक्षित अवस्थामा रहेका हरेक समुदायका नागरिक तथा महिलालाई राज्यका सबै निकायमा प्रतिनिधित्व गराई उनीहरूको कानुनी अधिकार सुनिश्चितताको व्यवस्था गरेकाले विश्वकै लोकतान्त्रिक संविधानको एक दस्ताबेज भएको उदाहरण पनि पेस गरिन् ।